यो देश कसको हो ?
को हुन् तिनीहरू
जो आफ्नै आँखाहरू बालेर हिँडेका छन्
अँध्यारोमा कर्नालीको तिरैतिर ?
ओखती हो कि चामलको लाममा
घण्टौँ उभिएर
रित्तो हात घर फर्कन वश
मेरा देशवासीहरूजस्तै को हुन् तिनीहरू ?
तुइनमा झुन्डिएर
तिनीहरू
कहाँ जान लागेका हुन् ?
कसका छोरा, नाती हुन्
तिनीहरू
जो रूँदैरूँदै
देश छोडेर हिँडेका छन् ?
कसका छोरी,बुहारी हुन्– तिनीहरू
जसलाई खुलेआम बेचिएको छ
लगेर वेश्यालयहरूमा ?
को हिँडेको हो
पृथ्वी थर्कने गरी
पिठियुँमा पहाडजत्रो भारी बोकेर ?
पसिना पोखिएका
ती उर्बर भूमिहरू
किसानहरूका हुन् कि साहुका हुन् ?
कसले बनाएको हो– कानुन ?
र, सर्वस्वसहित
जन्मकैद सुनाइएका
ती निर्दोष कैदीहरू को हुन् ?
मान्छे भन्नेले– आगो लगाएको
त्यो झुपडी कसको हो ?
र, खरानी भएका
ती जम्मै सपनाहरू कसका हुन् ?
रित्तो पैताला
पाठशाला हिँडिरहेका–
ती नानीहरू कसका हुन् ?
र, नानीहरूसँगै हिँडिरहेको
यो देश कसको हो ?
काठमाडौं ।