साहित्यको विकास

साहित्यकार साथीहरुको संगतले शिवको मनमा पनि साहित्यिक भोक जाग्न थाल्यो ।साहित्यकारहरुले इज्जत पाएको देखेर उ पनि लोभिन थालेको थियो । अव उ पनि कनिकुथी साना आयामका गजल , मुक्तक , हाइकु लेख्न थाल्यो ।

उसका रचना चिचिला सुन्तला जस्ता बेस्वादका भएकाले उसलाई पाठकहरुले रुचीपूर्वक पढेनन् । साहित्यकारहरुको हुलमा उ हाँसको बिचमा बकुल्लाझैं हुन्थ्यो । उसका साथीहरु स्तरीय लेखनका कारण निकै लोकप्रिय थिए ।उसले एकाध हाइकु र मुक्तक संग्रह निकाले पनि उसको नाम साहित्यकारका रुपमा स्वीकृत हुन सकेन ।

निकै समय उ साहित्यिक बजारबाट हरायो । उसले सत्ताधारी राजनीतिक दलको सदस्यता लियो र पार्टीको संस्कृति बिभागको मोर्चा समाल्यो । आफ्नै नेतृत्वमा दुई चार साहित्यिक संस्था खोल्यो र साहित्यको विकास गर्न सरकारबाट अनुदान लियो । अव साहित्यको क्षेत्रमा शिवको पनि चर्चा हुन थाल्यो ।

उसकै अध्यक्षतामा ठुल्ठुला साहित्यिक कार्यक्रमहरु भए । उठूलो साहित्यकारमा गनिन थाल्यो ।हुन त उसले निकै समयदेखि केहीपनि लेख्न सकेको थिएन तर पनि उसको ख्याति बढ्ने क्रम रोकिएन ।उ कार्यक्रमहरुमा अतिथिका रुपमा आमन्त्रित हुनथाल्यो । पत्रिकामा उ नै छापिन्थ्यो । रेडियो , टेलिभिजनमा उसकै स्वर घन्कन्थ्यो ।

एकदिन राजधानीमा आयोजित बिशिष्ट साहित्य गोष्ठीको प्रमुख अतिथि शिव नै थियो । सबैले उसको साहित्यिक योगदानको तारिफ गरे ।उसका शुरुवातकालीन रचनाहरुलाई समीक्षकहरूले अन्तर्राष्ट्रिय स्तरका रचना भनेर समीक्षा गरे ।

कार्यक्रम पछि उसलाई मन्चमै पुगेर पत्रकारहरुले सोधे , “तपाईंले साहित्यिक संस्था खोलेर साहित्यको के कति विकास भयो ? किन खोल्ने यस्ता संस्था ?”

शिबले चारैतिर नियालेर भन्यो ,“अरुले किन खोल्छन् , मलाई थाहाछैन । मैले खोलेर चाहिं विकास भएकै देख्छु । यी म यसरी प्रमुख अतिथि भएको छु ।

तपाईंहरुले मेरो अन्तर्वार्ता लिइरहनु भएको छ । यो विकास होइन र ?” असली साहित्यकारहरु भने दर्शक दीर्घा पछाडि पत्रकारहरुबाट टाढा र मौन थिए !

बागमती ११ , कर्मैया , सर्लाही