पास लिएर मदिरा ओसार्ने दुई जना पक्राउ
बैतडी , जिल्लामा खाद्यान्न ढुवानी गर्ने भनेर सवारी पास लिई मदिरा ओसार्ने ट्रकलाई शनिबार प्रहरीले नियन्त्रणमा लिएको छ। कैलालीको धनगढीबाट मदिरा लिएर बैतडीको मेलौली बजार पुगेको अवस्थामा इलाका प्रहरी कार्यालय मेलौलीको टोलीले से१ख १५४९ नम्बरको ट्रकलाई नियन्त्रणमा लिएको हो।
नियन्त्रणमा लिइएका ट्रकबाट विभिन्न ब्रान्डका ४३ पेटी मदिरा बरामद गरिएको बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिए। ट्रक मालिक उत्तमसिंह पुजारा र चालक रोशन पन्तलाई पनि प्रहरीले नियन्त्रणमा लिएको बताएको छ।
वैशाख ४ गते धनगढीबाट खाद्यान्न ढुवानी गर्ने भन्दै मेलौली नगरपालिकाबाट गाडीधनीले पास लिएका थिए। डिएसपी पाण्डेयले भने, ‘लकडाउनका बेला सवारी पास दुरुपयोग गरेकाले गाडी धनी पुजारालाई कानुनअनुसार कारवाही हुन्छ।’
घटनाको अनुसन्धानका लागि प्रहरी निरीक्षक धनदेव जोशीको नेतृत्वमा प्रहरी टोली खटिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। प्रहरीले रातिको समयमा बैतडी भित्रिने मालवाहक सवारीलाई जिल्लाका विभिन्न स्थानमा रहेका प्रहरी चेकपोस्टमा रोक्न खोज्दासमेत जबरजस्ती गरेर राति नै चलाउन खोज्ने गरेको बैतडी प्रहरीले जनाएको छ।