मदानी मन्थन
म मरें म जलें
केवल तिम्रालागि
देहबाट तपतप झरें
केवल तिम्रालागि
छटपटि हो नभन्दिनु
पीडा नथप्दिनु
मलाई सकिनुमा
चिर आनन्द छ ।
जीवनको आशा, प्रेम र समर्पणको सौन्दर्यलाई सरस र सलिल ढङ्गबाट उद्बोधन गरिएका यी कवितात्मक पङ्क्तिहरु कोपिला संग्रौला अधिकारीकृत ‘मदानी’ कविताकृतिबाट उद्दरण गरिएका हुन् । जीवनका अनेक पाटा खोतल्दै जीवनलाई जीवनकै नैसर्गिक सौन्दर्यले सिंगार्ने अभिप्राय बोकेर लेखिएका कविताहरुको संगालो ‘मदानी’ लाई हालै पाठकका सामु पस्केकी छन् कवयित्रिले ।
‘मदानी’ साठी ओटा लघु कविताहरुको सञ्चयन हो । प्रायःजसो यी कविताहरु रुपमा छोटा र भावमा मर्मश्पर्सी छन् । कुनै कवितामा गीती शैली भेटिन्छ भने कुनै कवितामा मुक्तकीय शैली पनि भेटिन्छ ।
हात तान उकालीमा
तल झर्दा म छु
हातेमालो गर हिडौं
घट्छ व्यथा बरु ।
कविता साहित्य र सिर्जनाको सबैभन्दा उपल्लो अवस्था हो । कविताका बारेमा सबैका आआफ्ना परिभाषा भए पनि यसलाई हृदयको सौन्दर्य उजागर गरिने कला हो भन्ने परिभाषामा धेरैको मतैक्यता रहँदै आएको छ । कवयित्रि कोपिला संग्रौला अधिकारीका कवितालार्ई हृदयको सौन्दर्यसंग एकाकार गरेर हेर्दा उनी प्रेम, सद्भाव, सहृदयता र खुशीलाई शब्दमा समेट्न आतुर देखिन्छिन् ।
‘मदानी’ कोमल अनुभूतिहरुको भावनामय मन्थन हो । घरपरिवार, आफन्त, साथी, जीवन र राष्ट्रप्रतिको प्रेमका अनुरागहरुको मन्थन भएको छ मदानीमा । जीवनलाई घेरिरहेका प्रश्नहरु र जीवनले खोजिरहेका उत्तरहरु केलाउने प्रयास भएका छन् यी कवितामा । बहस, विवाद, आलोचना, गालीगलौज र आक्रोशको भाव र भाषाभन्दा टाढा छन् यी कविताहरु ।
अनगीन्ति आत्मा भेटें
मन छुने यदाकदा
यति ठूलो संसारमा
मन मिल्ने यदाकदा
काला पत्थर थुप्रै भेटें
शालिग्राम यदाकदा
सङ्घर्ष छ यत्रतत्र
सफलता यदाकदा ।
स्वामी अवधेशानन्द गिरि भन्नु हुन्छ — पशुसंग आहारपुर्ति र वासनापुर्ती भन्दा बाहेक जीवनको अन्य कुनै लक्ष हुँदैन तर मानवसंग आहारपुर्ति र वासनापुर्तीको स्तरभन्दा माथि उठेर जीवनको अस्तित्वबोध गर्नु पर्ने लक्ष हुन्छ । जीवनको अस्तित्वबोधको खोजी गर्ने स्वभावले नै मानव र पशुलाई फरकफरक बनाउँछ । नत्र त मानव र पशु त पुँजीबादको नजरमा र फ्रायडको तर्कमा एउटैएउटै देखिन्छन्, मात्र एउटा जीव र एउटा उपभोक्ता । जीवनको आध्यात्मिक आवश्यकता, मानव भएर जन्मिनुको सार्थकता र जीवनलाई कर्मयोगी बनाउने उद्देश्य बोकेर सिर्जनाको बाटोमा हिड्दै सत्यताको खोजी गर्नु मानव जीवनको सुन्दर पाटो हो । यही सत्यताको खोजीमा संलग्न छिन् कवयित्रि पनि र भन्छिन्ः
यो धर्तीका गराहरु
सधैंभरी मुस्कुराउन
धानका बाला झुल्नुपर्छ
खेत बाझो हुनुहुन्न ।
कविता मानिसका संवेदना, अनुभूति र हार्दिक भावहरुको प्रकटीकरण हो । यसलाई अनुभवहरुको दस्तावेज पनि भन्ने गरिन्छ । हृदयका भावहरु सभ्य, सजल र सौन्दर्यमय नभएको मान्छेले मधुर छवियुक्त मनोहारी कविता लेख्न सक्दैन । भावको धवलता र शब्दको प्राञ्जलता कविताको प्रथम शर्त हो । बास्तबमा कवयित्रि कोपिला संग्रौला अधिकारीले आफ्ना सिर्जनामा कविताको यस शर्तलाई पालन गरेकी छिन् । साहित्यको नाममा उनले आगो लगाउने, अमिलो ओकल्ने र गालीगलौजका शब्दावली प्रयोग गरेको देखिदैन । उनका कविता न विज्ञापन हुन् न नारा हुन् । यी कविताहरु जीवनलाई प्रेरणामय बनाउने भावका दृष्टान्त हुन् । ‘मदानी’ मा सङ्ग्रहित कवितालाई पाठकहरुले प्रेमपुष्पको रुपमा ग्रहण गर्ने संभावना प्रशस्त देखिन्छ ।
कविता कम लेखिने भनेर आरोपित शहर हो नेपालगंज । यो शहरमा थुप्रै गजल लेखिए, निकै कथा लेखिए, धेरै निबन्ध लेखिए र लेखिए अनेकौं कविता पनि तर यस शहरलाई गजलकै शहर भनियो । नेपालगंजमा लेखिएका राम्रा कविताले राष्ट्रिय मञ्च पाउन नसकेको स्थितिमा एउटा कविताकृतिको आगमनलाई सुखद आगमन मान्नु पर्ने हुन्छ ।
‘मदानी’ को आगमन बास्तबमैं रहरलाग्दो छ । रहरको यात्रामा केही हतार, केही अलमल र केही हडबड पनि हुन्छ । कवयित्रि कोपिला संग्रौला अधिकारीलाई पनि यी कुराले प्रभावित पारेको देखिन्छ । उनको हतारले एउटा राम्रो कविताकृतिको जन्म त भयो तर उनको अलमलले थुप्रै भावहरु निखारिएर कवितामा रुपान्तरित हुनबाट बञ्चित पनि भएको महसुस हुन्छ । त्यस्तै उनको हडबडले ‘मदानी’ लाई प्राबिधिक दृष्टिकोणबाट अपाङ्ग देखाउनमा पनि केही भूमिका खेलेको छ ।
शुद्धाशुद्धि र भाषिक अनुशासनको अभाव यस कविताकृतिको सबैभन्दा खट्किने पक्ष हो । साहित्यको उद्गम स्रोत भनेको लहड र रहर नै भए पनि साहित्य भाषा र व्याकरणकै जगमा उभिएको हुन्छ । सर्जक र प्रकाशकहरुले हडबडको अवस्थामा पनि यस कुरामा हेलचेक्रयाई गर्न मिल्दैन । ‘मदानी’ को विषयगत पक्ष र अभिव्यञ्जनाको पाटो सशक्त हुँदाहुँदै पनि प्राबिधिक त्रुटीले यसलाई थिचेको छ ।
‘मदानी’ को अर्को खट्किने पक्ष भनेको यसलाई शुभकामनाको भारीले उकुसमुकुस हुनेगरी थिच्न खोज्नु पनि हो । कवितासङ्ग्रहलाई शुभकामनासङ्ग्रह भनौंभनौं जस्तो लाग्ने अवस्था छ । असान्दर्भिक शुभकामनाहरुले किताब भर्नुको औचित्य पुष्टी हुन सकेको छैन । सुन्दर आवरण कला देखेर मोहित भै कविताको रसास्वादन गर्न अग्रसर भएका पाठकलाई जबरजस्ती एक पछि अर्को शुभकामनाहरु पढाउनु साहित्यिक रुपले अनावश्यक सन्दर्भ हो ।
यद्यपि प्राबिधिक रुपमा ‘मदानी’ ले भाषाशास्त्रीहरुबाट आलोचना झेल्नु परे पनि यसको साहित्यिक पक्ष भने सबल देखिन्छ । भावहरुको उच्छलन प्रबल छ । संवेदना र अनुभूतिहरुको प्रवाह लयबद्ध छ । सरल भाषामा लेखिएका कविताहरु सबैको लागि सहज र बोधगम्य छन् ।
हृदयलाई हृदयसित जोड्ने तार र त्यो तारले दिने झङ्कारको भाषा कवयित्रीले हरेक कवितामा सकेसम्म अनुबाद गरेकी छन् । सहजता, सरलता र सभ्य भाषा यी कविताहरुको पहिचान हो र शक्ती पनि हो । यथार्थमा मानिसका मनहरु जोड्ने सूत्रको खोजी नै यी कविताहरुको अभिष्ट हो भन्ने बुझिन्छः
धन र मनको समानान्तर रेखा कहाँ भेटिएला ?
अपेक्षा र उपेक्षाको भाव कहिले मेटिएला ?