यस कारण भारतका ६ सहर ‘रेड जोन’ मा
काठमाडौं, कोरोना भाइरसको चपेटाबाट पिल्सिएको छिमेकी मुलुक भारतमा प्रत्येक दिन एक हजार बढि नयाँ संक्रमित थपिन थालेका छन् । पछिल्लो चार दिनको तथ्यांक हेर्ने हो भने औसतमा हरेक दिन एक हजार बढि ब्यक्ति कोरोनाबाट संक्रमित भएको पाइएको छ ।
बैशाख १ गते अर्थात १३ अप्रिलमा १ हजार २ सय ४८ जना कोरोनाबाट संक्रमित भएका थिए । १४ अप्रिलमा १ हजार ३४, १५ अप्रिलमा ८ सय ८३ र १६ अप्रिल (बिहीबार) मा १ हजार ६० व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ ।
भारतमा अहिलेसम्म कोरोनाबाट १३ हजार ४ सय ३० जना संक्रमित भएका छन् भने ४ सय ४८ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा मात्रै १ हजार ६० जना संक्रमित हुँदा २६ जनाको मृत्यु भएको छ ।
कोरोनाको संक्रमण दर ह्वात्तै बढेपछि भारत सरकारले ठूला ६ सहरलाई कोरोना महामारीको ‘रेड जोन’ मा राखेको छ। राजधानी नयाँ दिल्ली, आर्थिक राजधानी मुम्बई, कलकत्ता, चेन्नई, बैङ्ग्लोर र हैदराबादलाई रेड जाेनमा सूचीकृत गरेकाे बीबीसीले लेखेको छ।
उद्योगधन्दाका लागि चिनिएका विभिन्न राज्यहरू यो वर्गमा परेका छन् । ती क्षेत्रहरूमा केन्द्रीय सरकारले राज्यहरूलाई परीक्षण र सङ्क्रमित व्यक्तिको सम्पर्कमा आएका अन्य व्यक्तिको अर्को सातासम्म पहिचान गर्न भनेको छ।
रेड जोनमा संक्रमित व्यक्तिको संख्या घटाएर क्रमशः ग्रीन जोन अर्थात् शून्य संक्रमण भएको क्षेत्र बनाउने उसको उद्देश्य छ। अट्ठाइस दिनसम्म नयाँ संक्रमण नभेटिएका स्थानलाई ग्रीन जोनको मान्यता दिइने स्वास्थ्य मन्त्रालयले जनाएको छ। त्यसैगरी १४ दिनमा संक्रमण भेटिएका स्थान अरिन्ज जोनमा पर्नेछन्।