कोरोना कहरः राष्ट्रपति कार्यालयद्वारा साढे ९ करोड फिर्ता

काठमाडौं,राष्ट्रपति कार्यालयले सरकारलाई ९ करोड ५० लाख बजेट फिर्ता गरेको छ । सरकारले राष्ट्रपति कार्यालयका लागि उपलब्ध गराएको बजेटमध्येको ९ करोड ५० लाख रुपैयाँ फिर्ता भएको हो ।

कोरोनाभाइरसको कारण विशेष परिस्थिति उत्पन्न भएकाले चालू आर्थिक वर्षमा सरकारले विभिन्न शीर्षक अन्तर्गत उपलब्ध गराएको कूल बजेटमध्येबाट सो रकम फिर्ता गरिएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेले जानकारी दिए ।  सो बजेट सरकारको संघीय संचित कोषमा जम्मा हुने व्यवस्था गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोनाभाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा दुई महिनाको पारिश्रमिक दिने निर्णय गरिसकेकी छिन् । नेपालमा कोरोनाभाइरसबाट १६ जना संक्रमित भइसकेका छन् भने लामो लकडाउनका कारण अर्थतन्त्रमा नराम्ररी प्रभाव परेको छ ।