बैंगलोरबाट आएको २४ दिनपछि एक युवतीमा देखियो ‘आरडीटी पोजेटिभ’

मोरङ्ग, भारतबाट २४ दिनअघि फर्केर होम क्वारेन्टाइनमा बसेकी मोरङ्गकी एक युवतीको र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) नतिजा पोजेटिभ देखिएको छ । बिहीबार गरिएको आरडीटी परीक्षणमा मोरङ्गको बुढीगंगा गाउँपालिका–१ कि २७ वर्षीया युवतीमा कोरोना एन्टीबडी पोजेटिभ देखिएको हो ।

ती युवती अर्का एक साथीसँगै बैंगलोरबाट १० चैतमा घर आएकी थिइन् । उनी घर आएदेखि होम क्वारेन्टाइनमा बसिरहेको बुढीगंगा गाउँपालिका–१ का वडाअध्यक्ष युवराज पौडेलले जानकारी दिएका छन् ।

अहिले युवतीलाई कोशी अस्पताल विराटनगरको आइसोलेसनमा भर्ना गरिएको छ । अस्पतालले युवतीमा कोरोना रहेको वा नरहेको निश्चित गर्न प्रयोगशाला परीक्षण गर्दैछ । यसको नतिजा आज (शुक्रबार) आउने जनाइएको छ । जिल्ला स्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेतले एक जनामा र्‍यापिड टेष्ट गर्दा पोजेटिभ देखिएको जनाएका छन् ।

बुढीगंगा गाउँपालिकामा बिहीबार पुगेको परीक्षण टोलीले २७ वर्षकी युवतीसँगै आएकी अर्की युवतीको पनि परीक्षण गरेको थियो । तर उनमा र्‍यापिड टेस्ट गर्दा कोरोना एन्टीबडी नेगेटिभ आएको थियो । र्‍यापिड टेष्टमा कोरोना पोजेटिभ देखिएपछि युवतीलाई विराटनगरस्थित कोशी अस्पताल ल्याउन वडा अध्यक्षसहितको टोली युवतीको घर पुगेको थियो ।