कोरोनाका कारण कर्णालीका संचारमाध्यम बन्द, महासंघले बुझायो ध्यानाकर्षण पत्र
सुर्खेत । कोरोनाभाइरसका कारण कर्णाली प्रदेशका संचारमाध्यमहरु धमाधम बन्द हुन थालेपछि नेपाल पत्रकार महासंघले सरकारको ध्यानाकर्षण गराएको छ । महासंघको कर्णाली प्रदेश समितिले कोरोनाभाइरसका कारण प्रदेशभरीका संचारमाध्यमहरुमा पारेको प्रभाव, समस्या र सुझावसहित प्रदेश सरकारको ध्यानाकर्षण गराएको हो ।
महासंघका प्रदेश समितिका महासचिव दिपेन्द्र शर्माले कर्णाली प्रदेशका १० वटै जिल्लाका छापा माध्यमहरु पूर्णतः बन्द भएको र जेनेतन चलिरहेका संचारमाध्यमहरु पनि समस्यामा परेको बताएका छन् ।
शर्माले हस्ताक्षर गरेको ध्यानाकर्षण पत्रमा सुर्खेत, जाजरकोट, दैलेख, सल्यान, रुकुम, डोल्पा, जुम्ला, मुगु, हुम्ला, कालिकोट जिल्लाबाट प्रकाशन हुने सबै पत्रपत्रिकाहरु बन्द रहेको र प्रदेशका १० जिल्लामा रहेका रेडियोहरु, केवल टेलिभिजन र अनलाइनहरु मुस्किलले सञ्चालन भइरहेको उल्लेख गरेका छन् ।
त्यसैगरी सुर्खेतमा रहेका १२ वटा दैनिक पत्रिकाहरु बन्द भइसकेको बताउँदै एउटा दैनिक पत्रिका, ५ वटा रेडियो, तीन वटा केवल टेलिभिजन र एक दर्जन बढी अनलाइन सञ्चालनमा रहेको ध्यानाकर्षण पत्रमा बताइएको छ ।
त्यसैगरी संचारकर्मीले अहिले भोगिरहेको समस्याबारे पनि सरकारको ध्यानाकर्षण गराइएको छ । महासचिव शर्माले लकडाउनका कारण कर्णाली प्रदेशका सबै पत्रकारहरु प्रभावमा परेको बताउँदै प्रेसपास हुँदा पनि प्रशासनले सहज आवतजावत गर्न नदिने समस्या, सवारी साधनको समस्या, मास्क, सेनिटाइजर, ग्लोवलगायतका आवश्यक स्वास्थ्य सामाग्रीहरुको अभाव झेल्नुपरेको उल्लेख गरेका छन् ।
ध्यानाकर्षण पत्रमा यस्तो उल्लेख गरिएको छः
कर्णाली प्रदेशका मिडियाको अवस्था
कर्णाली प्रदेशका सुर्खेत, जाजरकोट, दैलेख, सल्यान, रुकुम, डोल्पा, जुम्ला, मुगु, हुम्ला, कालिकोट जिल्लाबाट प्रकाशन हुने सबै पत्रपत्रिकाहरु बन्द रहेका छन् । प्रदेशका १० जिल्लामा रहेका रेडियोहरु, केवल टेलिभिजन र यस प्रदेशका १० जिल्लामा कार्यालय रही सञ्चालन हुने अनलाइनहरु मुस्किलले सञ्चालन भइरहेका छन् ।
सुर्खेतमा रहेका १२ वटा दैनिक पत्रिकाहरु बन्द रहेका छन् । युगआवान दैनिक पत्रिका, ५ वटा रेडियो, तीन वटा केवल टेलिभिजन र एक दर्जन बढी अनलाइन सञ्चालनमा छन् ।
जाजरकोट जिल्लाबाट प्रकाशित हुने भेरीमालिका दैनिक बन्द रहेको छ भने जिल्लामा सञ्चालित ३ वटा रेडियो र ७ वटा अनलाइन भने आंशिक रुपमा चलेका छन् ।
डोल्पाबाट प्रकाशित हुने हिमाली सुस्केरा साप्ताहिक बन्द रहेको छ भने जिल्लाका तीन वटा रेडियो र चार वटा अनलाइन सञ्चालन छन ।
जुम्लाबाट प्रकाशित हुने तीन वटा दैनिक पत्रिका (कर्णाली सरोकार, कर्णाली पोस्ट र माउण्टेन टुडे) बन्द रहेका छन् भने पाँच वटा रेडियो र अनलाइन सञ्चालनमा छन् ।
हुम्लाबाट प्रकाशित कर्णाली रैवार र सिमकोट साप्ताहिक पत्रिका बन्द रहेका छन् भने जिल्लाका तीन वटा रेडियो, तीन वटा अनलाइन सञ्चालनमा छन ।
सल्यान जिल्लाबाट प्रकाशित कुमाख दैनिक पत्रिका बन्द रहेको छ भने पाँच वटा रेडियो, एक दर्जन अनलाईन सञ्चालनमा नै रहेका छन् ।
रुकुमबाट प्रकाशित हुने दुई वटा साप्ताहिक आहा सञ्चार र रेखदेख पत्रिका बन्द रहेका छन् भने ९ वटा रेडियो सञ्चालनमा छन् ।
मुगुबाट प्रकाशत हुने २ वटा पत्रिका र एक रेडियो बन्द रहेका छन् भने तीन वटा रेडियो सञ्चालनमा छन् ।
दैलेख जिल्लाबाट प्रकाशन हुने दुई वटा दैनिक पत्रिका (धमाका, पञ्चकोशी खबर र हाम्रो तेस्रो आँखा) र तीनवटा साप्ताहिक पत्रिका बन्द रहेका छन् । दैलेखमा रेडियो भने सञ्चालनमा नै छन् ।
कालिकोटबाट सञ्चालित कर्णाली खबर दैनिक पत्रिका र अविभारा साप्ताहिक पत्रिका बन्द रहेको छ भने जिल्लामा रहेका ८ वटा रेडियो भने सञ्चालनमा नै छन् ।
कर्णाली प्रदेशका सबै पत्रकारहरु लकडाउनको प्रभावमा परेका छन् । प्रेस पास हुँदा पनि प्रशासनले सहज आवतजावत गर्न नदिने समस्या, सवारी साधनको समस्या, मास्क, सेनिटाइजर, ग्लोव लगायतका आवश्यक स्वास्थ्य सामाग्रीहरुको अभाव झेल्नुपरेको छ । त्यसका वावजुत पनि कर्णाली प्रदेशका १० वटै जिल्लामा कार्यरत पत्रकारहरुले आआफ्नो क्षेत्रबाट रिपोर्टिङ गर्दै आएका छन् । यसबीचमा नेपाल पत्रकार महासंघ सुर्खेतसहित केही जिल्ला शाखाहरुद्वारा विभिन्न क्षेत्रको समन्वयमा पत्रकारहरुका लागि आवश्यक पर्ने मास्क, सेनिटाइजर र पञ्जा लगायतका सामग्रीहरु थोरै संख्यामा वितरण गरिएको छ । लकडाउनमा पनि फिल्डमा कार्यरत सबै पत्रकारहरुलाई यी सामाग्रीहरु प्रयाप्त रुपमा वितरण गरिनु जरुरी छ । आमसञ्चारका माध्यमहरु विनाको आजको समाज अन्धकार खाडलमा रहन्छ । त्यसैले आमसञ्चारका माध्यम नागरिकका दृष्टि र आवाज हुन् । नागरिकलाई निरन्तर सुसूचित, जागरुक र सचेत बनाउने तथा राज्यका निकायलाई सतर्क गराउँदै जवाफदेही बनाउन मिडियाले भूमिका निर्वाह गर्दै आएका छन् । विविध सीमा र समस्याका वावजुद नेपाली मिडियाले सामाजिक अन्तरक्रिया तथा परिवर्तनको प्रवाहलाई गतिवान बनाउने काम गर्दै आएका छन् ।
नागरिक सचेत र बलिया नभईकन राज्य बलियो हुनसक्दैन । राज्यले नागरिकलाई सचेत, जागरुक र सक्रिय बनाउनका लागि सबैभन्दा पहिला मिडियाको विकासमा ध्यान दिनु जरुरी हुन्छ । मिडिया पुर्णतः व्यवसायिक, दक्ष र सबल नभइकन आफ्नो वास्तविक धर्म निर्वाह गर्न सक्दैनन । त्यसैले राज्यले निरन्तर मिडियाको विकासमा ध्यान दिनु जरुरी छ । विगतको भुकम्पको विपत, महामारी तथा अहिलेको लकडाउनका बेला नागरिकलाई सूचना सम्प्रेषण गरी अवस्थाको वास्तविक जानकारी दिने लगायतका काममा मिडियाले उल्लेखनीय काम गरेका छन् । राज्यलाई पारदर्शी, जिम्मेवार र सबल बनाउन मिडियाले सदैव एक असल पहरेदारको भूमिका निर्वाह गर्दछन् ।
समस्याहरु
मिडियाहरु बन्द भएपछि मिडियाकर्मीहरुमा आर्थिक समस्या पर्दछ । उचित पारिश्रमिक नपाउने र भनेको समयमा पारिश्रमिक नपाउने गरेको नेपाली मिडिया क्षेत्रमा अब मिडिया नै बन्द भएपछि झन ठूलो समस्या देखिने निश्चित छ । त्यसको प्रभाव बहुआयामिक हुन्छ । त्यस्तै अब सञ्चारमाध्यमहरुको आम्दानी पनि ह्वात्तै घट्ने देखिन्छ । मिडियाहरुको आम्दानीको स्रोत विज्ञापन बजार हो । तर, सबै क्षेत्रहरु बन्द रहेका कारण विज्ञापनबाट हुने आम्दानी बन्द भएको छ । अहिलेसम्म सञ्चालनमा रहेका रेडियो र अनलाइनहरु पनि यही अवस्थामा लामो समय सञ्चालन भइरहनसक्ने अवस्थामा देखिदैनन । यस्तोबेला सबैभन्दा महत्वपूर्ण कुरा मिडियालाई बन्द हुन नदिई आफ्नो भूमिकामा उत्रने परिस्थिति निर्माण गर्नु हो । त्यसका लागि राज्यले जिम्मेवार मिडिया र मिडियाकर्मीका लागि विशेष सुविधा प्रदान गर्न हामी आग्रह गर्दछौ । आफ्नो स्वास्थ्य, परिवार र जीवनकै प्रवाह नगरी खट्ने पत्रकारहरुका लागि स्वास्थ्य उपचार, सञ्चारका साधनहरुको व्यवस्था तथा अन्य अनुदानका कार्यक्रम विकास गर्नका लागि सरकारसँग हामी आग्रह गर्दछौं ।
महामारीका बेला पनि नागरिकलाई समाचार सम्प्रेषणमा लागि परेका पत्रकारलाई आवतजावतका लागि सहज पासको व्यवस्था गर्न (सम्बन्धीत सञ्चार गृहको परिचयपत्रका आधारमा ) , उनीहरुका लागि मास्क, स्यानिटाइजर, पञ्जा तथा अन्य आवश्यक औषधीको व्यवस्था गर्न पनि हामी राज्यका निकायसँग माग गर्दछौं ।
यस्तो अवस्थामा सञ्चारमाध्यम श्रमजीवीहरुलाई पारिश्रमिक, घरभाडा, टेलिफोन, इन्टरनेट, विद्युत महशुल लगायतका अन्य खर्च समेत धान्न नसक्ने अवस्थामा रहने स्थिति छैन । त्यसका लागि टेलिफोन, विद्युत महशुल र इन्टरनेटमा विशेष सहुलियत प्रदान गर्न तथा महशुल छुट गर्न माग गर्दछौं ।
राष्ट्रिय तथा कतिपय स्थानीय मिडियामा कार्यरत पत्रकारहरु सदरमुकामहरुमा भाडामा बस्ने गरेका छन् । यस्तो अवस्थामा उनीहरुको घरभाडा मिनाहा गर्ने वातावरण तयार गर्न तथा आश्रित परिवारका लागि राहतका प्याकेज उपलब्ध गराउन पनि हामी सरकारसँग माग गर्दछौ ।
संकटकालीन स्थिति तथा यस्तै विपतमा सबैभन्दा बढी फेक न्यूजले ठूलो अफवाह फैलाउने र नागरिकमा त्रास उत्पन्न गर्ने स्थिति बन्दछ । त्यसैले हामी आम सञ्चारकर्मीहरुलाई हरेक सूचनाहरुलाई आफैले भेरिफाई गरेर मात्र प्रकाशन तथा प्रशारण गर्न आग्रह गर्दछौ । साथै महामारीले कसैलाई चिन्दैन । यस्तो बेला आफ्नो स्वास्थ्यको पूर्ण सुरक्षाको ख्याल गरी आफू सुरक्षित रहेर पत्रकारिताको धर्म निर्वाह गर्न पनि सम्पूर्ण पत्रकारहरुलाई आग्रह गर्दछौं ।