इसाराको भय !
पूर्वको नामचलेको सुन्दर शहर धरानमा रहेको “थ्री स्टार” होटलमा बिहान र दिउँसो भन्दा साँझढलेपछि बडी चहलपहल हुन्थ्यो। तीनजना युवतीले संचालन गरेको हुँदा होटलको नाम ” थ्री स्टार ” राखिएको थियो ।
तीन युवती मध्ये “पारिजात” सबैको आँखाको फूल र हृदयको धड्कन थिईन। उनीसँग एकनजर जुधाउँन सबै मरिहत्ते गर्थे।उनी विछट्ट सुन्दरी मात्र होइन चतुर पनि थिईन्।उनलाई रुपवान नगरबधूको नजरले हेरिन्थ्यो । वास्तवमा पारिजात रातभर ढकमक्क फुल्थिन् र बिहानै झर्थिन् ।
शहर ; उनको आकर्षक शरीर र रुपको छायाँमा थियो। उनको मोहक सुन्दरता हेर्न कै लागि पनि मानिसहरु होटल छिर्थे। पारिजातलाई आँखामा लुकाएर निस्कन्थे।छातीको कुनामा सजाएर राख्थे । होटलको व्यावसाय पनि राम्ररी फस्टाएको थियो।
शहरमा जताततै उनकै चर्चा हुन्थ्यो। उनको रुपको जादुमा सबै नतमस्तक थिए। उनलाई स्पर्श गर्नपाउँने पुरुषहरु आनन्दले पुलकित हुन्थे।उनको रुपमा महिलाहरु पनि डाह र ईर्ष्या गरेर जल्थे। कोही कोही त वेश्या भन्न समेत पछिपर्दैनथे।
उनका बिरुद्धमा प्रशासनमा उजुरी समेत पर्थ्यो । उच्च प्रशाशनिक अधिकारीसँग उनको राम्रैसँग गोप्य हिमचिम थियो । सम्झाउन जाने प्रहरी अधिकृतहरु उल्टै पारिजातको प्रसंसक बनेर फर्कन्थे। उनको बोलीमा पनि सबैलाई सम्मोहन गर्नसक्ने मिठास थियो। यदाकदा उनी सार्वजनिक ठाउँमा निस्कदा सबेैका नजरले उनैलाई डसिरहेका हुन्थे। हावामा रुपको खुश्बू फैलन्थ्यो। यसरी होटल धाउँनेमा शहरका बौद्धिक र सभ्रान्तहरु पनि हुन्थे।
पर्दापछाडीको काममा महिलाहरू नै बडी संलग्न थिए। भद्रभलाद्मी देखि बेलाबेला आउँने ठूला नेताको बास बस्ने मनपरेको होटल थियो ; थ्री स्टार।
शहरका आदर्श मानिएका रंजित देखि भद्रताका प्रतीक शुरेस मात्र होइन नैतिकताको वकालत गर्ने श्यामप्रसाद पनि कुनै बहना मिलाएर बारम्बार होटलमा सुटुक्क छिर्थे।
पारिजात भने कोठामा छुपाएर राखेको गोप्य क्यामराले आफूसँग अन्तरङ्ग समयका मानिसको रेकर्ड गरेको भिडियो तस्बिर खिचेर जतनले राख्थिन्। अनावस्यक पात्रको भने तस्बिर मेटाउने गर्थिन् । उनलाई लाग्थ्यो कुनै भवितव्य भएमा तस्बिरहरू प्रमाणको रुपमा प्रस्तुत गर्न सकिन्छ। तर उनको कसैलाई फसाउने नियत थिएन।उ आफ्नू पेशाप्रति इमानदार थिइन्।
*
तर एकदिन बिहान होटलको कम्पाउण्डमा भीडभाड बढेको थियो । प्रहरीहरु र महिला संगठनका पदाधिकारीहरु पारिजातलाई घेरेर केरकार गरिरहेका थिए।
पारिजातका मनमा भने अनेक कुराहरू नदीको छालझेै आउँथे, हराउँथे । निकैबेरको सोधपुछपछि उनले आफ्नू तीनमहिनाको गर्भ रहेको कुरा स्वीकार गरिन्। तर बच्चा कस्को थियो उनैलाई थाहा थिएन,उनी चुप थिइन्।
उनले पैसाको गड्डी फ्याँकेर आफ्नू शरीरसँग खेल्ने सबै पुरुषहरुलाई एकएक गरेर मनमनै नियालिन्। शुरेस ,रंजित,श्यामप्रसाद लगाएत करिब बीसजनालाई त त्यहाँ उपस्थित गराइएकेै थियो।सबैको अनुहारमा रौनक थिएन ।सबैलाई पारिजातको इसाराको भयले डसिरहेको थियो।
सबेै आरोपी डराएका थिए । पारिजातको कामुक र चतुर आेठबाट कस्को नाम उच्चारण हुने हो। सबै ससंकित थिए ! पारिजात अन्तरङ्ग सम्पर्कका कतिलाई त मिर्मिरे बिहानीसँगै बिर्सिदिन्थिन् । सबैलाई सम्झिएर साध्य पनि थिएन।
सम्पर्कमा रहेका मध्ये रंजित भन्दा उपयुक्त र उत्तम पात्र कोही देखिनन्।चालिसको हाराहारीमा पनि गहुँगोरो छफुटे रंजितमा बेग्लै रौब र चुम्बकिय आकर्षण थियो।उसको नौबर्ष अगाडी तुलसासँग प्रेमबिबाह भएको भएपनि बच्चा जन्मिएका थिएनन्।
तुलसा चालिस किलोमिटर टाढा रहेको माइतीघर गइरहने भएकाले बेलाबेलामा जोईपोइ बीच सामान्य ठाकठुक भने हुनेगर्थ्यो।सानोतिनो विवादमा पनि तुलसा माइत हिंड्दिन्थिन्।यसैमा रंजित चित्त दुखाउथ्यो र कहिलेकाही बहकिन खोज्थ्यो। रंजित होटलमा गएर गफिन्थ्यो,खान्थ्यो र फर्कन्थ्यो।
तर एकरात नारी सौर्न्दर्य सामु रंजितको बहानाबाजी र आदर्शले आत्मसमर्पण गरेरै छाड्यो। रंजितको सुन्दरता र व्यक्तित्वप्रति पारिजातको विषेश लोभ र आकर्षण थियो नै।
केही समयदेखि पारिजात एउटा त्यस्तो पुरूषको खोजिमा थिइन् जस्ले उस्को जीवन चतित्र बुझेर पनि हृदयबाट प्यार गरोस् । उनको मनमा वासना भन्दा पनि अब गाढा प्रेमको भोक जागिरहेको थियो।उनी आफ्नू पेशालाई घृणा गर्न थालेकी थिईन्।
पारिजातले अन्तिम पटक एकएक गरेर लामबद्ध सबैको अनुहार नियालिन् । रातका सारा पात्रलाई रुप र क्षणिक शारीरिक प्यासका भिखारी ठानिन् । वासनाका दासभन्दा माथिल्लो दर्जामा राखिनन् ।
बिबाहित भएपनि रंजितसँगै आफ्नू भविष्य सुरक्षित देखिन्।
अनि रंजित तर्फ मायालु इसारा विछ्याउँदै भनिन्…।
“मेरो पेटको बच्चाको हकदार ! रंजितबाबु हुनुहुन्छ ।”
रंजितको अनुहार पहेँलियो। पारिजात तर्फ पुलुक्क आँखा घुमे ; दुबैका आँखाले मूर्छित सम्वाद गरे।
अरु दोषीहरुको अनुहारमा रौनक फर्कियो इसाराको भय हरायो।
यतिबेलै तुलसा हावाको गतिमा होटलको कम्पाउण्डमा प्रवेश गरिन्।भीडमा भएका कसैले पहिलेनै मोबाइल फोनबाट विकसित परिस्थितिको सूचना तुलसालाई दिइसकेका थिए।
तुलसाले रंजितलाई धिक्कारिन्।कैयौं अपशव्द निकालेर गाली गरिन्। पारिजातलाई कुट्न तम्सिन तर महिला प्रहरीले रोके।
तुलसा भन्दै थिइन्।
“पारिजात ! तँ नारीको कलंक र धरतीको बोझ होस् ।दुनियाँसँग लाज बाँडेर रंजितलाईमात्र कसरी दोषको भागिदार बनाइस्।”
पारिजात मौन बसिन्।
तुलसाले डिएनए टेस्ट गर्नुपर्ने मांग राखिन्।रंजितले ठाडै इन्कार गरिदिए।
तुलसा जसरी रिसले रंथनिदै आएकी थिइन्।उसरी नै सटासट बाहिरिइन्।
वातावरणमा एकछिन सन्नाटा छायो।सबैको नजर रंजितमा गएर स्थिर भयो।
झमझम झरीपरेको मौसममा आफू चुकेको एकमात्र रात र पारिजातसँगको एकान्त साथ सम्झदै रंजितले सबेैका सामुन्ने पारिजातसँग एकरात बिताएकोमा स्वीकारोक्तिको टाउको हल्लाए।
दमक,झापा