राप्ती उवासंघले राप्ती गापालाई ५० हजार बराबरको खाद्य सामाग्री उपलब्ध गराउने
भालुवाङ,दाङ देउखुरीको राप्ती उद्योग वाणिज्य संघ भालुवाङले राप्ती गाउँपालिकालाई ५० हजार बराबरको खाद्य सामाग्री उपलब्ध गराउने भएको छ । संघका अध्यक्ष जगतप्रसाद पोख्रेलको अध्यक्षता तथा राप्ती गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष तथा संघका पूर्व अध्यक्ष ताराबहादुर डिसीको विशेष उपस्थितिमा बुधबार अाफ्नै कार्यालयमा सामाजिक दुरी कायम गरी बसेको बैठकले सो निर्णय गरेको हो ।
विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस कोभिड १९ र लकडाउनले राप्ती गाउँपालिका भित्रका नागरिकलाई राहत प्रदान गर्न संघले संस्थाको कोषबाट सो रकम उपलब्ध गराउने र बाँकी उद्योगी, व्यापारीबाट समेत संकलन गरी थप ३ लाख बराबरको खाद्य सामाग्री उपलब्ध गराउने निर्णय गरेको छ ।
त्यसैगरी बैठकले दैनिक खुल्दै अाएका किराना तथा खाद्यान्नका पसल अब हप्ताको ३ दिन अाइतवार, मंगलबार र बिहिवार बिहान ६ देखि ९ बजे सम्म मात्र खोल्ने निर्णय गरेको छ । त्यस्तै बजारमा हुने कालोबजारी तथा कृतिम अभाव सिर्जना हुन नदिन र लकडाउनको पूर्ण पालना भए नभएको, सामाजिक दुरी कायम भए नभएको लगायतका विषयमा अाफ्नो कार्यक्षेत्र भित्र अनुगमन गर्न विभिन्न संघका पद्धाधिकारीहरूलाई जिम्मेवारी समेत तोकेको छ ।
जस अनुसार वडा नम्बर १ मा संघका वरिष्ठ उपाध्यक्ष टोपबहादुर कार्की, सल्लाहकारद्वय नारायण शर्मा, बुधर अलि वडा नम्बर २ मा संघका महासचिव सुरज खड्का, लालमटिया बजार व्यवस्थापन समितिका अध्यक्ष युवराज भुसाल, वडा नम्बर ३ मा संघका कोषाध्यक्ष श्रीधर खत्री, सन्तोष अधिकारी र ४ नम्बर वडामा संघका सदस्य सन्तोषकुमार गुप्ता र माैरीघाट बजार व्यवस्थापन समितिका अध्यक्ष बेगमबहादुर बस्नेतलाई जिम्मेवारी तोकेको छ । बैठकको सहजीकरण संघका महासचिव सुरज खड्काले गरेका थिए ।