फ्रान्समा एकै दिन मृत्यु हुनेको संख्या १ हजार ४३८

एजेन्सी, विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण फ्रान्समा पनि तीव्र देखिएको छ । फ्रान्समा पछिल्लो २४ घण्टामा १ हजार ४३८ जनाले ज्यान गुमाएका छन् । यो हिजोको तुलनामा झण्डै दोब्बर हो । हिजो ७६२ जनाले ज्यान गुमाएका थिए ।

एकैदिन १ हजार ४३८ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १७ हजार १६७ पुगेको छ । एकै दिन ४ हजार ५६० जना संक्रमित भएसँगै कोरोना संक्रमितको संख्या १ लाख ४७ हजार ८६३ पुगेको छ । फ्रान्समा संक्रमितमध्ये ३० हजार ९९५ जना उपचारपछि निको भएका छन् । ६ हजार ४५७ जनाको अवस्था गम्भीर रहेको छ भने ९९ हजार ७४१जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

चीनको वुहानबाट शुरु भएको कोरोना संक्रमणको दर यूरोपियन मुलुक हुँदै पछिल्लो समय अमेरिकामा तीव्र देखिएको छ । अमेरिकामा आज मात्रै २ हजार ४८२ जनाले ज्यान गुमाएका छन् । यसैबीच, विश्वव्यापी रुपमा कोरोना भाइरसका कारण हालसम्म १ लाख ३४ हजार ५६० जनाले ज्यान गुमाएका छन् भने संक्रमितको संख्या २० लाख ८२ हजार ३७२ पुगेको छ ।