पश्चिम बंगाल सरकारद्वारा मेची नाका शिल, रोकियो आयात-निर्यात
काठमाडौं, पश्चिम बंगाल सरकारले नेपालसँग सीमा जोडिएको मेची नाका शिल गरेको छ । कोरोना भाइरस संक्रमणको कारण देखाउँदै भारतको पश्चिम बंगाल सरकारले नेपालसँग जोडिएको नाका बन्द गरेको मेची भन्सार कार्यालयका प्रमुख ध्रुवराज विश्वकर्माले जानकारी दिएका छन् ।
बंगाल सरकारले भारतीय भन्सार कार्यालयलाई पत्राचार गर्दै अनिश्चितकालका लागि कारोबार रोक्न निर्देशन दिएको जानकारी आफूले पाएको भन्सार प्रमुख विश्वकर्माले बताएका छन् । पश्चिम बंगाल भन्सार विभागका जोइन्ट कमिसनर एसके मोहापात्रले अवस्था सामान्य नभएसम्म भारतबाट वस्तु निर्यात गर्न नसकिने जानकारी दिएको विश्वकर्माले बताएका छन् । भारततर्फको नाका बन्द भएपछि भारत, भुटान र बंगलादेशबाट नेपालमा हुने आयात ठप्प भएको उनले बताएका छन् ।
नेपालमा लकडाउन भइरहेका बेला पनि सो नाकाबाट ग्याँस बुलेट, तरकारी, फलफूललगायतका वस्तु नेपाल भित्रिइरहेका थिए । तर, एकाएक भारतले सीमा नाका बन्द गर्दा नेपालमा उपभोग्य सामान भित्र्याउन कठिनाइ हुने अवस्था सिर्जना हुने विश्वकर्मा बताउँछन् ।
यता केन्द्र सरकारको नीतिविरुद्ध राज्य सरकारबाट नाका बन्द गरिएपछि नेपालले कुटनीतिक पहल थालेको भन्सार विभागले जनाएको छ । परराष्ट्र र वाणिज्य मन्त्रालय हुँदै भारतीय दूतावासलाई नाका बन्दबारे पत्राचार गरिएको जनाइएको छ । दिल्ली स्थित नेपाली दूतावासबाट समेत पहल थालिएको जानकारी आफूलाई आएको मेची भन्सार प्रमु्ख ध्रुव विश्वकर्मा बताउँछन् ।