दुबईबाट फर्केका एक व्यक्तिमा ‘एन्टीबडी पोजेटिभ’

झापा , प्रदेश नं १ मा र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) गरिएकामध्ये झापाको हल्दिबारी गाउँपालिकाका एक व्यक्तिमा ‘एन्टीबडी पोजेटिभ’ भेटिएको छ । एन्टीबडी पोजेटिभ भेटिएका व्यक्ति चैत ५ गते दुबईबाट घर फर्केका हुन् । उनको स्वास्थ्य अवस्था सामान्य छ । उनी शुरुदेखि नै होम क्वारेन्टाइनमा बसेका छन् ।

हल्दिबारी गाउँपालिकाका ६१ जनाको बुधबार आरडीटी गरिएकामा वडा नं २ का ३१ वर्षीय युवामा एन्टीबडी पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईँले बताए ।

चौलागाईंका अनुसार आरडीटीबाट पोजेटिभ देखिएका व्यक्तिसहित उनको परिवारका सात जनाको थ्रोट स्वाब सङ्कलन गरेर प्रयोगशाला (पीसीआर) परीक्षणका लागि विराटनगरस्थित प्रादेशिक अस्पताल पठाइएको छ ।

हल्दिबारीका अरु १४ जनाको समेत स्वाब परीक्षणका लागि पठाइएको छ । बुधबारसम्ममा प्रदेशका विभिन्न जिल्लामा ५५५ जनाको आरडीटी गरिएको छ । हल्दिबारीका एक व्यक्तिमा मात्र एन्टीबडी पोजेटिभ देखिएको हो । अरु सबै नमूनामा नेगेटिभ नतिजा आएको छ ।