१५ दिने क्वारेन्टाइनमा बिताएर घरजान नपाएको भन्दै दशगजामा आन्दोलन

नेपालगन्ज,बाँकेको नेपाल-भारत सिमानाकास्थित दशगजा क्षेत्रमा रहेका नेपालीहरु आन्दोलित भएका छन । १५ दिने क्वारेन्टिन बसाई पश्चात घर जाने आशमा रहेका उनिहरु बिहिबार आन्दोलनमा उत्रिएका हुन । पूर्व घोषणा अनुसार आफुहरु घर जान नपाएको भन्दै आन्दोलनमा उत्रिएका उनिहरुले तिन वटा बसमा तोडफोड गरेका छन ।

रिपोर्ट नेगेटिभ आएपछि मेयर राणासहितका सरोकारवालाले क्वारेन्टिन छोडी घर जान निर्देशन दिएका थिए । तर, बाँके प्रशासन र गृहमन्त्रालयको समन्वय अभावका कारण उनीहरु घर जानबाट बञ्चित भएपछि आन्दोलनमा उत्रिएका हुन् ।

घर जान तयारीमा रहेका उनीहरुलाई गृहमन्त्रालयको आदेश भन्दै बाँकेका प्रमुख जिल्ला अधिकारीले क्वारेन्टिन नछोडन निर्देशन दिएका थिए । आन्दोलनमा उत्रिएका नेपालीले क्वारेन्टिनमा रहेको दुईओटा बसको सिसा फुटाईदिएका छन् ।

सुरक्षाका लागि क्वारेन्टिन पुगेको जमुनाह प्रहरीसंग आफूहरु घर जानपाउनु पर्ने माग गर्दै आन्दोलनमा उत्रिएका उनीहरुले झडपको स्थिती समेत सिर्जना गरेको जमुनाह प्रहरीले बताएकाे छ । प्रहरीका अनुसार आन्दोलनकारीहरुले आफूहरु घर जान पाउनुपर्ने माग गर्दै दुईवटा बसमाथि तोडफोड गरेकाछन् । बस तोडफोड गर्ने क्रममा क्वारेन्टिनमा रहेका आन्दोलित एकजना सामान्य घाईते भएका छन् ।

नेपालगन्जको दशगजामा रहेका एक सय ८१ जनामा पनि कोरोना नेगेटिभ देखिएको बताइएकाे छ।  नेपालगन्जको दशगजामा बनाइएको क्वारेन्टिमा बसेका ब्यक्तिलाई घर पठाउन गरिएको तयारीलाई गृहमन्त्रालयले रोकेको उपमहानगरपालिकाले बताएको छ ।

भारतका विभिन्न शहरबाट आएका २६ जिल्लाका एक सय ८१ जनालाई विगत १५ दिनदेखि दशगजा क्षेत्रमा राखिएको छ । उनीहरुको बिहीबार आरडीटि टेष्ट गर्दा सवैजनाको नतिजा नेगेटिभ आएपछि घर पठाउने तयारी गरिएको थियो । उनीहरुलाई घर पठाउनका लागि क्वारेन्टिनमा गाडी समेत बोलाइएको थियो ।

धेरैजसो गाडीभित्र सामान राखिएका थिए । कतिपयले आ–आफ्नो सिट छानेर समेत बसिसकेका थिए । १५ दिन क्वारेन्टिन बसेपछि आरडीटि टेष्टसमेत नेगेटिभ आएपछि उनीहरु घर जान खोज्नु सामान्य मानिने गरिएकोछ । जिल्लाकै अन्य पालिकाहरुले यस्तोमा घर जान दिएका छन् ।