बाँकेको जमुनाहास्थित दशगजामा बसेका सबैको रिपोर्ट नेगेटिभ, घर पठाइँदै

नेपालगञ्ज, बाँकेको जमुनाहास्थित दशगजामा राखिएका एक सय ८१ जनाको ‘आरडीटी’ टेष्ट गर्दा नेगेटिभ रिपोर्ट आएको बताइएकाे छ । भारतका विभिन्न शहरबाट आएका उनीहरुलाई स्थानीय प्रशासन र नेपालगञ्ज उपमहानगरपालिकाले दशगजामै टेन्टमा राखेकाे थियाे ।  राखेकाे १६ औं दिन आज उनीहरुको आरडीटी टेष्ट गरिएको थियो ।

नेपालगञ्ज उपमहानगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख रामबहादुर चन्दले सबै जनाको रिपोर्ट नेगेटिभ आएको जानकारी दिए । चन्दका अनुसार, त्यहाँ २६ जिल्लाका मानिस रहेका छन् । आरडीटी रिपोर्ट नेगेटिभ आएसँगै उनीहरुलाई घर पठाउने तयारी थालिएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले सबैलाई पत्रसहित सम्बन्धित जिल्लामा पुर्याउने बताए ।

यी मानिसहरु बडो संघर्ष गरेर दशगजामा बस्न पाएका थिए । कामको सिलसिलामा भारत पुगेका उनीहरु चैत्र १७ गते रुपैडिहा नाका आइपुगेका थिए । एक रात उनीहरु भारतमा बसे । भोलिपल्ट भारतीय सुरक्षा बल (एसएसबी)ले दशगजामा ल्याएर छोडिदियो । त्यसपछि नेपालतर्फ सुख्खा बन्दरगाहको एरियामा खुल्ला आकाशमुनी रात बिताए ।

खेतमा बसेका उनीहरुलाई स्थानीय प्रशासनले सीमावर्ती भारतीय समकक्षीसँग बैठक बसेर आधा आधालाई व्यवस्थापन गर्ने सहमति गरे । त्यो सहमति अनुसार, जमुनाहामा पुगेका उनीहरुले सबै एकै ठाउँमा बस्ने अडान कसे ।

नेपाली अधिकारीले भारतीय समकक्षीलाई त्यो कुरामा पनि सहमत गराए । फेरि उनीहरुले भारत नजाने अडान कसेर लगातार आन्दोलन गरे । त्यो रात दशगजामै खुल्ला आकाशमुनी बिताए । भोलिपल्ट पनि धेरै सम्झाइयो । कुनै पनि हालतमा नमानेपछि अन्तिममा नेपाली सेनाले दशगजामै ४५ वटा टेन्ट बनाएर राख्यो । पछि केही टेन्ट थपिएको थियो ।

आज आरडीटी टेष्टमा नेगेटिभ रिपोर्ट आएपछि खुशी भएका उनीहरु घर जान पाउने भएपछि उत्साहित भएका छन् । नेपालगञ्जका मेयर डा. धवलशमशेर राणाले नाकामै पुगेर सबैलाई सुरक्षित तरिकाले घरमा पठाउने आश्वासन दिएका थिए ।

बाँकेका विभिन्न क्वारेन्टाइनमा १४ दिन बसेका व्यक्तिलाई आरडीटी जाँच गर्दै नेगेटिभ देखिएमा घर पठाउने गरिएको छ । अहिलेसम्म विभिन्न ठाउँबाट क्वारेन्टाइनमा बसेका करिव दुई सय जना घर गइसकेका छन् ।