मस्जिदमा बसेका १२ भारतीको स्वाब संकलन
उदयपुर , उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित मस्जिदमा बसेका १२ भारतीयसहित १६ जना मुस्लिम समुदायका मानिसहरु भेटिएका छन्। आफूहरुले नेपाल लकडाउन हुनुअघि आएको बताएका थिए ।
वीरगन्जको मस्जिदमा बसेका मुस्लिम धर्मगुरुमा कोरोना संक्रमण भएको पुष्टिपछि उदयपुरमा समेत अनुगमन गरिएको प्रजिअ दीपककुमार पहाडीले बताए।मस्जिदमा रहेका १२ जनासँग भारतीय परिचयपत्र भएको पाइएको र अन्य ४ जना नेपाली रहेका पहाडीले बताए। लकडाउनको समयमा मस्जिदमा विदेशी आएर गुपचुप बसेको स्थानीयले प्रशासनलाई खबर गरेका थिए ।
भुल्केको मस्जिदमा रहेका १६ जनाको स्वाब लिन स्वास्थ्यकर्मी सहित सुरक्षाकर्मीको टोली पठाइएको पहाडीले बताए । भुल्के मस्जिदमा रहेका १२ भारतीय विराटनगरबाट सप्तरी हुदै त्यहाँ आएका प्रारम्भिक सोधपुछमा खुलेको जिल्ला प्रशासनले जनाएको छ।
भुल्के मस्जिदमा भरहेका भारतीय सप्तरीको वोदेबर्साइन नगरपालिका ५ जाँजरमा फागुन ३ देखि ५ भएको नेपाल इज्तिमा सहभागी हुन आएको अनुमान गरिएको छ । स्वाब सकलनसँगै तिनीहरुको ‘ट्राभल हिस्ट्री’ समेत खोजिने पहाडीले बताए।