“मनको उल्झन”

सधैं जिस्क्याइरहने गर्छ सबिनले । साबिनाले उसको कुरालाई कहिल्यै पनि सिरियस लिएकी थिइनँ । उसको कुरा सुन्दा धकाउँथी सबिना तर सुन्दा रमाइलो लागिरहन्थ्यो ।

देख्दा चुलबुले देखिए पनि भित्री रुपमा गम्भीर स्वभाव थियो उसको । सधैंको कुरा गराईमा ध्यान नदिए पनि उसको एकदिनको कुराले भने अचम्मित बनायो सबिनालाई ।

सोच्न थालि भेट भएको दिनदेखिका सबै कुरा।
केलाउन थालि एकएक शब्दलाई ।
बेलाबेलामा झस्कन्छे पनि अहिलेसम्म ।

फेरि मनमा आउँछ – “आ होस् ! के अचम्ममा पर्नु? यी लोग्नेमान्छेको जात यस्तै हो, स्वास्नीमान्छे देखेपछी एकछिनको लागि संसार नै बिर्सन्छन्” ।

यस्तैयस्तै सोच्दै हतारहतार तयार भएर निस्कीई उ । पाहुना छन् साथमा ।  उनीहरुलाई घुमाउन हिंडेकी हो उ ।

आफ्नो ठाउँ देखाउनु छ। त्यहाँको सुन्दरता बर्णन गर्नु छ । आफ्नो ठाउँको अनि मनोरम दृश्य चिनाउनु छ। पाहुनासंग बोलिरहे पनि मनमा भने त्यही सबिनका कुरा खेलिरहेका छन् ।

सिङ्ताम बजार उछिनेर तिस्ता नदि पार गरेपछि खाजा खाने ठाउँमा गाडी रोकियो । अरु खाजा खानतिर लागे, सबिना भने फोनतिर लागी।
“हेल्लो सबिन!”
“हेल्लो सबिना ? ” उताबाट आवाज आयो ।
“के छ खबर? सन्चै छौ?”
वार्ता अघि बढ्यो ।
“बेलुका निकै पियौ क्या हो?”
“बेहोशी पारामा कुरा गर्दै थियौ नि?”
“अरे म कहिल्यै पिउँदिन” सफाई दिन थाल्यो उ।
“नपिए कसरी आउँछ त त्यस्तो बोल्न “

” अँ पिउनु पर्दो हो मैले तिमीलाई त्यति भन्न पनि ? साँच्चै मैले भनेको तिमी किन पत्याउँदिनौ?” सबिनाको कुराले सबिना छाँगाबाट खसे झै हुन्छे धेरै बोल्न सक्दिन । के बोलुँ के बोलुँ जस्तो भयो ।

“हस अहिले फोन राखे है सबिन, म पाहुना हरुलाई घुमाउन लादै छु। नाम्ची चारधाम बुद्धपार्क, भरे कुरा गरौं है” ।
“हुन्छ बाई” सबिनले फोन काटिहाल्यो ।

सबिनालाई खाजा खाने मन थिएन मानौं एक प्रकारको चिन्ता जस्तै बढ्यो । सधैं ठट्टाको रुपमा लिने मान्छे आज भने सोच्न बाध्य भएकी छ उ ।  सिङ्तामबाट हिडेपछी आफ्नो मन पाहुनापट्टी लगाउन थाली उ ।

अलि माथी उक्लिएपछि तिमी टिगार्डेन आयो । क्षितिज भन्दा पर सेतो हिमाल देखियो । सारा हरिया पहाडका मनोरम दृष्य छरिए आँखा अगाडि । पाहुनाहरु पनि रमाउँदै फोटो खिच्दै आनन्द लिन लागे । सबिनाले त्यँहाको बर्णन गरी रहे सकुञ्जेल।

परपरका हिमाली चुचुराहरु भुइंभरी सेतो कार्पेट ओछ्याएजस्तै देखिन्छन् । वरपर चारैतिर हेर्दा पनि देउराती पाखा पखेरा भरी हरियो दुबो ओछ्याएजस्तै लागिरह्यो । टिस्टानदि नीलो सर्पझै बगिरहेको देखिन्छ पहाडका कापकापको बिचबिचमा । पाहुनाहरू जुम गरेर ती दृश्यलाई क्यामरामा कैद गर्न उछिनपाछिन गर्न लागे ।

यात्रा सुस्त सुस्त अघि बढ्दैछ । बाटोमा देन्थाम बजार आयो । यो गाईको घिउ र अर्गानिक तरकारी पाइने ठाउँ हो । अगाडी बाटोबाट अलिअलि देखियो चारधामको शिवको मुर्ति । अलि पर पुगेपछी सांडुप्छे आयो । यतै हो बुद्धको ठुलो मुर्ती भएको ठाउँ ।

रोपवे भएको ठाउँमा एकछिन रोकियौं । त्यहाँबाट तलतिर नजर डुलायौं । तलतिरको भीर देखेर डराए सबैजना “आबुई आबुई” । पाहुनाहरु सबै तराईमा बस्ने मान्छे हुन् । पहाडका यस्ता दृष्यले तर्सिनु स्वभाविकै हो ।

सबिनालाई के तराई ? के पहाड ? सबैभन्दा ठूलो पहाडको बोकेकी छे मन भित्र । सबिनको कुरो कुनै पहाड भन्दा कम छैन । तौपनी पाहुनाहरुलाई बाटोका दृष्यहरु देखाउँदै छे सबिना ।

उ यताबाट जान्छ मुख्यमन्त्री चामलिङको घर । उ यो हो भाइचुग भोटियाले बनाएको स्टुडियम । यतापट्टि छ साईमन्दिर । एकोहोरो बोलिरहेकी छ उ तर कतैबाट टुप्लुक्क सबिन नै आइपुग्छ कि जस्तो अनुभूति भैरहन्छ उसलाई।

बाटो वरपरका दृष्यहरु देखाउँदै पुगियो चारधाम । निस्फिक्री घुम्छन् वरपर । सुन्दर अनि सफा छ त्यँहा फूल उस्तै राम्रा छन् । आँखै तिर्मिर हुने वातावरण छ । बुद्ध पार्क झन् त्यस्तै सुन्दर देखिन्छ । एकैछिनमा कुहिरोले छ्याप्पै छोप्छ सारा पृथ्विलाई । एकैछिनमा फेरि खुल्छ । बुद्ध भगवानको दर्शन हुन्छ । फेरि छोप्छ । छिनछिनमै बदलिन्छ मौसम ।

सबिनाको मनमा भने अर्कै आँधी चलिरहेको छ । हुनसम्म भएको छ आज मनभित्र उथलपुथल। अब भेट्दा के भन्ने होला ? फोन आयो भने के भन्ने होला ? यस्तैयस्तै कुरा खेलाउँछन् मनमा ।  सधैं मजाक सम्झेर उडाउने सबिनालाई पर्नु पिर परेको छ आज । 

एक मनले भन्छ आवश्यकता त उसलाई पनि त छ मायाको । चाहना त उसलाई पनि छ एउटा माया गर्ने मान्छेको । रहर त छ कोही आओस् राजकुमार बनेर उसको जिन्दगीमा पनि ।

तर यी कुराहरु केवल सपना जस्तो लागिरहेको छ । उ पत्याउनै सक्दिन सबिनले माया गर्छ भनेर । हुन त उसको सधैं चासो गरिरहने मान्छे हो सबिन । कहाँ छौ? के गर्दै छौ? मुम्बईमा हुँदा पनि बारम्बार खबर लिईरहन्थ्यो, पटनामा भए पनी असममा भए पनि सबिना जता पुगे पनि ख्याल राखिरहने सबिनले माया गरेर नै त होला ? यस्तैयस्तै खेली रहे कुरा ।

फेरि आयो फोन सबिनको । फोनमैं भोलि दिउँसो १ बजे मन्दाकिनी फलमा भेटौं न है भनेर आग्रह गर्‍यो फेरि सबिनले । लामो कुरा गरेर आज प्रसङ्गलाई अन्त मोड्न सकिन उसले ।

“हुन्छ” निस्किहाल्यो मुखबाट । हलुंगो भयो मन उसको । कुनै गरुंगो भारी बिसाए जस्तो हलुंगो लागेर आयो । दिन भर पाहुनाहरुलाई घुमाएर साँझ थकित भएर फर्किई सबिना फेरि गान्तोक ।

भोलिपल्ट बिहानैदेखि छटपटी भइ रह्यो दुबैजनालाई । सल्लाह गरे अनुसार आई पुगे दुबैजना मन्दाकिनी फल । सयौं पटक हेरेको यो झरना आज अर्कैअर्कै लागिरहेको छ ।

केही नबोलेर निकै बेर मौन बसिरहे दुबै जना । मुटुको ढुकढुकिले भने वार्तालाप गरिरहे । अचम्म मान्दै छे सबिना । शंका पनि प्रेममा परिणत हुँदो रहेछ अचानक । मजाक मानेको कुरा पनि यथार्थ बन्दोरहेछ जीवनमा।  झरनाको पानीजस्तै बगिरहे रहरहरु ।

तादोङ, गान्तोक