दाङमा कोरोना संक्रमित भेटिएको भन्दै अफवाह फैलाउने पक्राउ

कोरोना भाइरस संक्रमित भेटिएको भन्दै अफवाह फैलाउने एक जनालाई प्रहरीले दाङको घोराहीबाट पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङले घोराही निवासी दिपक न्यौपानेलाई पक्राउ गरेको हो । उनले कोरोनाबारे सामाजिक सञ्जालमा अफवाह फैलाएको पाइएकाले पक्राउ गरिएको दाङका प्रहरी प्रमुख एसपी जनक भट्टराईले जानकारी दिए ।

 उनीमाथि थप अनुसन्धान भइरहेको उनले बताए । न्यौपानेले सामाजिक सञ्जालमा दाङमा एक जना महीहिलामा र्‍यापिड टेष्टमा कोरोना संक्रमण देखा परेको भन्दै स्ट्याटस पोष्ट गरेका थिए । प्रहरीले सामाजिक सञ्जालमा विना तथ्य जथाभावी कोरोनाको बारेमा भ्रम फैलाएको भन्दै पक्राउ गरेको हो ।

न्यौपाने घोराहीको काठेकोहल नजिकै रहेको पाठशाला एजुकेशन सेन्टरका सञ्चालक पनि हुन् । जिल्ला प्रहरी कार्यालय दाङले जिल्लामा अहिलेसम्म कुनै पनि व्यक्तिमा हालसम्म कोरोना नभेटिएको पनि जानकारी दिएको छ । प्रहरीका अनुसार वेलझुण्डी कोरोना अस्पतालमा १४ जना आइसोलेसनमा रहेको र ९ जनाको थ्रोट स्वाव परीक्षण गर्न बुटवल पठाईइएको छ भने अन्य ५ जनाको स्वाव संकलनको तयारी हुँदैछ ।