शंकै शंकामा क्वारेन्टाइनमा राखिएका पुरूष भारतबाट नआएको पुष्टि

भालुवाङ, भारतबाट आएको भन्ने शंकै शंकामा दाङ देउखुरीको राप्ती गाउँपालिकामा रहेको क्वारेन्टाइनमा राखिएका पुरूष भारतबाट नआएको पुष्टि भएको छ । राप्ती गाउँपालिका वडा नम्बर ६ बगरापुर निवासी ति पुरूषलाई आइतवार राती सिसहनियाँ महदेवा जोड्ने राप्ती पुल पारिबाट पक्राउ गरि वडा नम्बर ५ मा रहेको सर्वोदय मावि सिसहनियाँमा स्थापना गरिएको क्वारेन्टाइनमा राखिएको थियो ।

तर ति पुरूष भारतबाट नभई कपिलवस्तुको बालापुर स्थित भेली मिलबाट नयाँ वर्ष मनाउन घर आएको प्रहरी चौकी सिसहनियाँले बताएको छ । मिल सञ्चालक सँग प्रहरीले गरेको टेलिफोन सम्पर्क पछि ती व्यक्ति मिलबाटै आएको पुष्टि भएको हो । पुर्वबाट पश्चिम तर्फ हिड्दै आएको अवस्थामा गढवा गाउँपालिका वडा नम्बर १ कालाकाटेमा स्थापना गरिएको हेल्थडेक्समा चेकजाँच गर्दा ति पुरूषमा तापक्रम बढी देखिएको भन्ने आधारमा गढवाले राप्ती गाउँपालिकालाई खवर गरेको थियो ।

खवर पाए लगत्तै राप्ती गाउँपालिकाको विभिन्न ठाउँमा सुरक्षा निकाय, स्थानीय र जनप्रतिनिधि खटिएर ती पुरूषलाई राप्ती पुलपारिबाट राति ९;३० बजे प्रहरी चौकी सिसहनियाँबाट खटिएको टोलीले पक्राउ गरि सम्झाई बुझाइ क्वारेन्टाइनमा राखेको थियो ।

क्वारेन्टाइनमा राखिएका ती पुरूषलाई १४ घण्टा पछि छोडिएको प्रहरी चौकी सिसहनियाँका प्रहरी नायव निरिक्षक गोपालकुमार मल्लले जानकारी दिएका छन् । ती पुरूषका भाईको जिम्मामा ती पुरूषलाई छोडिएको प्रहरी नायव निरिक्षक मल्लले जानकारी दिएका छन् ।