विदेशमा १४ नेपालीको मृत्यु, ६६५ संक्रमित

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड-१९ का कारण विदेशमा रहेका १४ नेपालीले ज्यान गुमाएका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले संकलन गरेको तथ्यांक अनुसार कोरोना संक्रमणबाट बेलायतमा आठ, अमेरिकामा पाँच र संयुक्त अरब इमिरेट्समा एक जना नेपालीको ज्यान गएको छ ।

संघका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा गठित उच्चस्तरीय समितिअन्तर्गतको स्वास्थ्य समितिले सो तथ्यांक सार्वजनिक गरेको हो । समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार हालसम्म विभिन्न मुलुकमा रहेका ६६५ गैरआवासीय नेपालीमा कोरोना संक्रमण भएको पुष्टि भइसकेको छ । विदेशस्थित नेपाली नियोग, गैरआवासीय नेपाली संघको शाखा तथा स्थानीय संघसंस्थाद्वारा संकलित सूचनाका आधारमा उक्त तथ्यांक सार्वजनिक गरिएको उनले जानकारी दिए ।

अमेरिकामा ५००, बेलायतमा १००, स्पेनमा १८, युएईमा १०, जर्मनीमा चार, पोर्तुगलमा आठ, अष्ट्रेलियामा नौ, साउदी अरेबियामा चार, कुवेतमा पाँच, जापान, मलेसिया, म्यानमार र हङकङमा एक एक नेपालीमा कोरोना सङ्क्रमण पुष्टि भएको ।