नदीमा हामफालेर एक जनाको मृत्यु

पोखरा, गण्डकी प्रदेशमा नदीमा हामफालेर एकको मृत्यु भएको छ भने एकजना डुबेर बेपत्ता भएका छन् । मृत्यु हुनेमा सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका घर भई पर्वतको जलजला गाउँपालिका–३ बारीबेनीमा बस्दै आएका ३५ वर्षीया देवकी थापामगर रहेका छन् । पर्वत जिल्लास्थित बारीबेनी दोभानबाट कालीगण्डकी नदीमा हामफालेर थापामगरको मृत्यु भएको छ । उनको शव १५० मिटर तल लामाखेतस्थित नदी किनारमा भेटिएको प्रदेश प्रहरी कार्यालय गण्डकीले जनाएको छ ।

त्यसैगरी पोखरा महानगरपालिका–१ बगरस्थित सेतीनदीमा माछा मार्ने र पौडी खेल्ने क्रममा एक जना बेपत्ता भएका छन् । पोखरा–१६ दीप बस्ने करिब २४ वर्षीय अमृत मगर डुबेर बेपत्ता भएको प्रहरी नायब उपरीक्षक राजेन्द्रबाबु रेग्मीले जानकारी दिए । त्यस्तै पोखरा महानगरपालिका–५ मालेपाटन गोलचौतारास्थित पानीको नहरमा नवजात शिशु मृतावस्थामा फेला परेको हो । रासस