आँगनमा भाव यज्ञ

मृत्यु बोकेर दैवको उडान थाहै नदिई आयो
लास बोकेर विदेशी विमान थाहै नदिई आयो ।
पोहर साल आयो सबै उज्यालो निभाएर गयो
यो साल के निभाउन तुफान थाहै नदिई आयो ।
घरबार लुट्न बाढी पहिरो हल्ला गर्दै आयो
इज्जत लुट्न पापी शैतान थाहै नदिई आयो ।

यी पङ्क्तिहरु नमिता बरालको नवीनतम गजल सङ्ग्रह ‘आँगन’बाट उद्दरण गरिएका हुन् । २०७५ भाद्रमा लोकार्पण गरिएको ‘आँगन’ यस्तैयस्तै अठासी ओटा भावप्रधान र अर्थमय गजलहरुले सङ्ग्रह हो । पोखरामा जन्मिएर बाँकेको कोहलपुरलाई कर्मथलो बनाएकी नमिता बराल नवोदित पिढींमा राम्रो संभावना बोकेकी स्रष्टामा गनिन्छन् । उनको प्रथम सिर्जनाकृति ‘आँगन’ ले उनमा विद्यमान सिर्जनशिलता र शब्द सिंगार्ने कलालाई सशक्त किसिमले उजागर गरेको छ ।

आजभोलि धेरै किताब निस्किने विधामा संभवतः गजल नै पर्छ । प्रायः साहित्यिक कार्यक्रम र पत्रपत्रिकाका पाना पनि गजलले नै रङ्गिएका देखिन्छन् । गजलका शब्दलाई कानले टिप्न र भावलाई मनले ठम्याउनै नसकिने गरी समकालिन साहित्यमा गजलको चर्को विज्ञापन देखिन्छ । अचेल सर्वत्र गजलको भीड, होहल्ला, चहलपहल र चकाचौध छ भन्दा अतिशयोक्ति नहोला । कुनै पनि कुरालाई भीड र विज्ञापनले गाँज्यो भने त्यसको गुणात्मकता हराउँछ भन्ने तथ्य गजलमा पनि लागु हुन थालेको छ ।

भीड र हल्लाले गजलको मर्म र ओज हराउन थाल्यो भनेर समालोचकहरु चिन्ता पनि प्रकट गर्न थालिसकेका छन् । तैपनि भीडमैं भीमको पहिचान हुन्छ भनेजस्तै गरी यही भीड र यही होहल्लाको बीचमा पनि केही स्रष्टाहरुले गजलमा काव्यको सुगन्ध पस्किने भरमग्दूर प्रयत्न गरिरहेका छन् । नमिता बराल गजलको भीडमा पनि आफ्नो श्रेष्ठता कायम गर्न सक्षम सिर्जनाकार हुन् । उनको साहित्यिक अठोटको गजलीय प्रकृति हेरौंः

चाहन्छु यी पैतालामा समयको लगाम नहोस्
जिन्दगी कहिल्यै पनि तकदिरको गुलाम नहोस् ।

पचास र साठीको दशकमा श्रेष्ठ प्रिया पत्थर, शीतल कादम्बिनी, विष्णुमाया बिभु, साधना प्रतिक्षाजस्ता नारी स्रष्टाहरुले आफ्आफ्नो किसिमले खनजोत गरेको नेपाली गजलको खेतबारीमा आज धेरै उर्जावान् र प्रतिभासम्पन्न नारी स्रष्टाहरु आफ्नो पृथक भावभंगिमा र शिल्प प्रदर्शन गरी सिर्जनाको फसल रोपिरहेका छन् । अमला अधिकारी, अनुपमा करारा, सुधा शाही, नयन अधिकारी, सुमन स्मारिका, अन्जु स्मारिका, दुर्गा जोशी, संगीता थापाजस्ता स्रष्टाहरु आफ्नो ओजस्वी वाणी र काव्य सौन्दर्यका साथ गजल साहित्यमा आफ्नो उँचाई बनाइरहेकी नारी हस्ताक्षर हुन् । त्यही लहरमा उभिन आइपुगेकी नवोदित स्रष्टा हुन् नमिता बराल ।

साहित्य यस्तो क्षेत्र हो जहाँ अगाडि वा पछाडि प्रवेश गर्नुको खासै अर्थ रहँदैन । पुरानो वा नयाँ स्रष्टा हुनुको चिनारी पनि यहाँ त्यति युक्तिसंगत हुँदैन । प्रतिभाको गाम्भीर्यता, नैसर्गिक उर्जा र भावको बोधगम्यताले नै साहित्यमा कुनै पनि व्यक्तिलाई चिनाउने गर्छ । नमिता बराल पनि उनको उमेर, साहित्यमा प्रवेश गरको तिथिमिती र पुस्तक प्रकाशन हुनु—नहुनुका कारणले भन्दा पनि उनका अर्थपूर्ण र भावमय सिर्जनाका कारणले पृथक चिनारी बनाएकी स्रष्टा हुन् । साहित्यमा उनको उपस्थिति टाढैबाट चिनिन्छ । उनका गजल र सिर्जनाका स्वर टाढैबाट सुनिन्छन् । उदाहरण उनकै गजलांश हुन्ः

भोक कस्तो चिज रहेछ खायो सकियो
हेर्नुहोस् यो तृष्णा पनि अघायो सकियो
ब्युँझेकाले जिन्दगीलाई उल्था गरिदिए
जिन्दगी के नै रहेछ र? निदायो सकियो !

सधैं सुनिरहेको र पढिरहेको कुनै कुरा जब फरक र मीठो गरी सुनिन्छ र पढिन्छ साहित्यिक अभिव्यक्ति त्यसैलाई भनिन्छ । भीडको भाषा वा होहल्लाको पदावली साहित्य हुन सक्दैन । उनै कुरा वा उनै विषयहरु साहित्यकारको कलमबाट लेखिंदा वा बाणिबाट प्रकट हुँदा त्यो मिठो, अरुको भन्दा फरक, अर्थपूर्ण र ओजस्विताका साथ सुनिनु पर्छ ।

यद्यपि नमिता बरालले गजल भनेर लेखेका र साहित्य भनेर पस्केका कुराहरु उनै हुन्, विषय पनि उनै हुन् । सदा सुनिएका, सदा देखिएका र सदा भोगिएका कुराहरु नै उनले आफ्ना गजलको विषय बनाएकी छन् । उनको प्रस्तुति, शैली र अभिव्यक्तिको तरिकाले ती दैनन्दिनी विषयहरु पहिलोपल्ट बोलिएको वाणि जस्तो बन्न पुगेका छन् । सिर्जनाकारको शक्ति र सामथ्र्य भनेको बास्तबमा ललित उद्गार हो ।
‘आँगन’ लाई नमिता बरालले विविध भावहरुको फूलबारीजस्तै बनाएकी छन् ।

विचार, विषय र सन्दर्भहरुका विविध अभिव्यक्तिले सङ्ग्रह सुसज्जित छ । अठासी ओटा गजलमा रहेका साढे चारसय जति युग्मपङ्तिहरु सबैजसो विषयसापेक्ष, वाचाल र प्रतीकात्मक छन् । शब्द चयनको कला र भावको कुतुहलतालाई हेरेर टिपौं भने पनि सटीक र प्रभावशाली युग्मपङ्क्तिको सूचि लामै हुन्छ । कविता वा गजलको एउटै पङ्क्तिले कविको ओजिलो परिचय बन्न सक्छ भने यस सङ्ग्रमा त थुप्रै श्रुतिमधुर पङ्क्तिहरु भेट्न सकिन्छ । गजलको कोणबाट नियाल्दा ‘आँगन’मा थुप्रै गहन शेर भेटिन्छन्ः

गरिबले गरिबलाई प्रहार गर्नुमा के मजा?
प्रहारको मजा लिन पनि धनी रोजेकी हुँ ।

आउनुहोस् यो मुटु चिथोरेर जानुस्
आजकाल दुख्दैन मलाई पीडाले पनि ।

साँच्चै मुक्त होलान् र घाटमा जलेका लासहरु
बग्न त बग्छन् यी नदीहरु पनि खरानी बोकेर ।

उज्यालो राख्छु मात्र मलाई कहिल्यै भनेन
दियोले हेर आफन्त पराई कहिल्यै भनेन ।

मन त थियो निदाउने आँचल राखेर सिरानीमा
भाग्यले पठाइदियो राइफल राखेर सिरानीमा ।

मेरा खुसी हाँस्दैनन् यी सबैसबै चेहरा
हेर्नुहोस् कोही हुँदैन रैछ परिवार भन्दा माथि ।

यो भाग्यले खानु पर्ने सबै चिज खाइसक्यो
यो शरिरले खानलाई अझैं हण्डर खान बाँकी छ ।

मिर्मिरेमैं दरिद्री जिन्दगीले ब्युझाउँछ
ठुलाठुला सपना सिरानीमा सकिन्छन् ।

केके पाठ पढाइयो अनि हतियार बोकाइयो
भाइ कसरी भो दाइको हत्यारा बुझ्नु थियो ।

भएकाहरुले महल बनाए गएकाहरुले परदेश
म कसलाई गुहारुँ कसले मेरो मुलुक बनाइदिन्छ ।

दुईचार खुड्किलाहरु उक्लेर हेर्नु तिमीले
उभिने छ दुनियाँ तिम्रो प्रगतिको विरुद्धमा ।

दर्जनौं सपना बोकी खाडी पुग्यो छोरो
निदाएछ उतै सपनाहरु परेलीमा राखेर ।

सामाजिक जीवनमा मानिसहरु आँगनलाई सपना र रहरहरुले सिंगार्छन् । नमिताले आफ्नो सिर्जनाको आँगनलाई भावको यज्ञ गरेर सिंगारेकी छन् । जीवनका अनेक पाटाहरुलाई गजलमा ढाल्ने उनको कला प्रशंसनिय छ । गजल केवल मनोरंजनको माध्यम मात्र हो भन्नेहरुका लागि यो सङ्ग्रह गतिलो उत्तर बन्न सक्छ ।

मायापिरतीका घोचपेच र गुनासो पोख्दै रमाइरहेका गजलकारको भीडमा नमिताका गजल निकै स्तरिय देखिन्छन् । कविताको उपल्लो स्तरसंग दाँजिन सक्ने उक्तिविचित्रता भेटिन्छ यो सङ्ग्रहमा । नेपाली साहित्यका राम्रा र स्तरिय गजल सङ्ग्रहको लहरमा निसंकोच उभ्याउन सकिन्छ यसलाई ।

यद्यपि कवितामय भावको सौन्दर्यले ओतप्रोत हुँदाहुँदै पनि यस सङ्ग्रहमा खोट लगाउने ठाउँ हुँदै नभएको भने होइन । लयात्मकता र वर्णविन्यासका मापदण्डहरुको पालना गर्न सङ्ग्रह केही ठाउँमा चुकेको छ । भाषा र व्याकरणपट्टि पर्याप्त ध्यान नदिएका अनेक उदाहरण पनि भेटिन्छन् ।

गजलका दुईओटा पङ्क्तिको अन्तरसम्बन्धलाई बलियो बनाउने चमत्कारिकताको कतैकतै अभाव पनि देखिन्छ तर यस्ता कमजोरीहरु सङ्ग्रहको वैचारिक सघनताको अगाडि ओझेल परेका छन् । बास्तबमा सिर्जनाको पूर्णता सिर्जनाकै अनुभूतिजन्य प्रभावकारितामा निहित हुन्छ । गजलको आँगनमा भाव यज्ञ गर्दै गजलकै गमला सजाइरहेकी कवयित्रीलाई यस कुराको हेक्का छ भन्ने कुराका प्रमाण पनि उनैका गजल हुन् ः

शिरको आकाश पैतालाको माटो हराएपछि
कसरी हिड्ला यो दुनियाँ बाटो हराएपछि ।
यति महत्व हुँदोरहेछ कुनै रङ्गको जिन्दगीमा
हरेक रङ्गहरु बेरङ्ग हनेछन् रातो हराएपछि ।

[email protected]