समय अनुकुलतालाई पर्खेर बस्दैन

 

१)
रहर आवश्यकतालाई पर्खेर बस्दैन ।
मौसम सुन्दरतालाई पर्खेर बस्दैन ।।
जति सकिन्छ जीवनलाई प्रेमिल बनाऔं-
समय अनुकुलतालाई पर्खेर बस्दैन ।।

२)
शिशिरमा झर्नु र वसन्तमा मुस्कुराउनु, जीवनभर चलिरह्यो ।
आफै आशा जगाउनु, आफै मन दुखाउनु, जीवनभर चलिरह्यो ।
निरन्तर पराजीत भए पनि, मोहन र सम्मोहनको प्रतिष्पर्धामा ।
स्वयं स्वप्न सजाउनु, फेरि पछुताउनु, जीवनभर चलिरह्यो ।।

३)
आँखामा आदित्य खोजूँ कि नखोजूँ म अलमलमा छु ।
रहरमा लालित्य खोजूँ कि नखोजूँ म अलमलमा छु ।
दृष्टि स्वयंमा अभिधा र भाव अलंकार हो भने –
दृष्यमा साहित्य खोजूँ कि नखोजूँ म अलमलमा छु ।

नेपालगन्ज