प्रदेशीका गजल

सकिएन, सराबको बोतल छाड्न सकिएन
चाहेर नि धर्तिको आँचल छाड्न सकिएन ।

आमा भन्छिन्- आँशु झार्दै जिन्दगी सकियो
तर, डोको जाँतो र ओखल छाड्न सकिएन ।

उडेर चाँदनी टिप्ने रहर हुँदा-हुँदै पनि
आकाश हेर्दै बसेँ धरातल छाड्न सकिएन ।

उता घरमा बा भोकै होलान् आमा भोकै होलिन्
चुल्हो निभेको होला सामल छाड्न सकिएन ।

प्रत्येक सेरहरुमा तिम्रो अनुहार झल्किन्छ
र त लेखिरहेछु गजल छाड्न सकिएन ।।

पञ्च- देवल नगर पालिका ४ अछाम, हाल भारत मुम्बई ।