अग्रवाललाई ७ दिन थुनामा राख्न प्रशासनको अनुमति
काठमाडौं, कालोबजारी गरेको आरोपमा पक्राउ परेका शंकर ग्रुप तथा जगदम्बा स्टिलका सञ्चालक सुलभ अग्रवाललाई काठमाडाैं प्रशासनले ७ दिन थुनामा राख्न अनुमति दिएको छ । कुटनीतिक नियोगको गाडी दुरुपयोग गरी कोरोना भाइरसको ज्वरो नाप्ने थर्मल गन बढी मूल्यमा बिक्री गरेको आरोपमा पक्राउ परेका अग्रवाललाई काठमाडौं जिल्ला प्रशासनले अनुसन्धानको लागि ७ दिन थुनामा राख्न अनुमति दिएको हो ।
प्रहरीले अग्रवाललाई अनुसन्धानकाे लागि केही हिरासनमा राख्न प्रशासनसँग अनुमति मागेकाे थियाे । प्रहरीले उनलाई कुटनीतिक नियोगको २०९ एच. सी. सी १ नम्बरको गाडी लिएर कोरोना भाइरसको ज्वरो नाप्ने थर्मल गन बढी मूल्यमा बेचिरहेको अवस्था मंगलबार दिउँसो पक्राउ गरेको हाे।
अग्रवालले किर्गिस्थान नियोगको गाडी लिएर बजारमा गुणस्तर अनुसार ३ हजार देखि ५ हजार पर्ने थर्मल गनलाई १६ हजार रुपैयाँमा बिक्री गरेका थिए । ६७ थान थर्मल गन बोकेको अवस्थमा पक्राउ परेका अग्रवालले आफू किर्गिस्तानका लागि नेपाली अवैतनिक दूत भएको र सुविधा वापत कूटनीतिक नियोगको गाडी प्रयोग गर्दै आएको बयान दिएका थिए । तर प्रहरीले यसबारे परराष्ट्रसँग बुझ्दा उनले कुनै कूटनीतिक नियोगको गाडी प्रयोग गर्न नपाउने जानकारी दिएपछि प्रहरीले गाडीसहित पक्राउ गरेको हो ।