उपचाररत सिन्धुपाल्चोकका चारैजनामा कोरोना देखिएन

सिन्धुपाल्चोक ,चौतारा अस्पतालमा कोरोना भाइरससँग मिल्दो लक्षण भएका चारैजनालाई संक्रमण नभएको पुष्टि भएको छ।

स्वाव परीक्षणपछि आज प्राप्त नतिजा सर्वजनिक गर्दै जिल्ला अस्पताल चौतारा र प्राथमिक स्वास्थ केन्द्र वाह्रबीसेले ती बिरामीमा कोरोना नभएको पुष्टि गरेका हुन्।

प्राथमिक स्वास्थ केन्द्र बाह्रबीसेमा तीन र जिल्ला अस्पताल चौतारामा एकजना आइसोलेसनमा थिए। विदेशबाट फकिएकी बाह्रबीसे–७ की रेणु र सुष्मा विकसहित बाह्रबीसे–३ का रोशन शेर्पा कोरोना संक्रमणको आशंकामा आइसोलेसनमा उपचाररत थिए।

त्यस्तै आइतवार लक्षण मिलेको भन्दै लिसङ्खुपाखर–७ की सुनमाया तामाङ चौतारा अस्पतालको आइसोलेसनमा थिइन्। उनीहरु कसैमा पनि कोरोना संक्रमण नभएको स्वास्थ्य कार्यालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागाईंले जानकारी दिए।