राप्ती गाउँपालिकासँग विपद व्यवस्थापन समितिको सहकार्य
भालुवाङ, दाङ देउखुरीको राप्ती गाउँपालिकामा गठित कोरोना भाइरस विपद व्यवस्थापन सहयोग तथा सहजीकरण समितिले मंगलबार राप्ती गाउँपालिका सँग सहकार्य गरेको छ । कोरोना भाइरसको जोखिमलाई मध्यनजर गरि सरकारले देशभर लकडाउन गरेपछि कुनै पनि नागरिक भोकले मर्न नपरोस भन्नका लागि तथा गाउँपालिकालाई सहयोग र सहजीकरण गर्न गाउँपालिका सँग सहकार्य भएको हो ।
गाउँपालिकाले समितिलाई आधिकारिकता पत्र प्रदान गर्ने गरि सहकार्य भएको समितिका अध्यक्ष जगतप्रसाद पोख्रेलले जानकारी दिएका छन् । समितिले विभिन्न निकाय सँग समन्वय गरि राहत संकलन गरि एकद्वार प्रणाली मार्फत राहत वितरण गर्ने सहमति भएको अध्यक्ष पोख्रेलले बताएका छन् । यसै बिच समितिले करिव ५०० बोरा चामल संकलन गर्ने लक्ष्य समेत निर्धारण गरेको छ ।
छलफल कार्यक्रममा गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदी,उपाध्यक्ष जगदम्बाकुमारी चौधरी,प्रमुख प्रशासकीय अधिकृत शोभाराम रिजाल,सुचना अधिकारी विश्वास विक रहेका थिए भने समितिको तर्फबाट समितिका अध्यक्ष जगतप्रसाद पोख्रेल,कार्यकारी अध्यक्ष अर्जुन अधिकारी, उपाध्यक्ष होमप्रसाद शर्मा, सचिव कुमार अधिकारी,कोषाध्यक्ष शिवध्वज मल्ल र सदस्यहरू ओमप्रकाश गुप्ता,मेनुका शर्माको सहभागीता रहेको थियो ।