बाँकेमा लकडाउन उलङ्घन गर्ने ११ सय मोटरसाइकल नियन्त्रणमा
नेपालगन्ज,बाँके लकडाउन उलङ्घन गर्ने ११ सय बढि मोटरसाईकल र स्कुटर नियन्त्रणमा लिएको जनाएको छ । प्रहरीले नेपालगन्ज र कोहलपुरका बिभिन्न स्थानबाट तिन दिनमा ११ सय बढि निजि सवारी साधन नियन्त्रणमा लिएको हो ।
लकडाउन अवेज्ञा गर्नेप्रति कडा रुपमा प्रस्तुत भएको बाँके प्रहरीले सोमबार २ सय १९ मोटरसाईकल र स्कुटी नियन्त्रणमा लिएको छ । यसअघि आईतबार ५ सय ३ र शनिबार ४ सय ४१ मोटरसाइकल र स्कुटर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
लकडाउनलाई कडाईकासाथ कार्यान्वयनका लागि निरन्तरता दिईने र नियन्त्रणमा लिइएका सवारी साधनका चापी लकडाउन समय अबधिभर फिर्ता नदिइने जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक सुरज खत्रीले जानकारी दिए ।
प्रहरीको यो काम सर्वसाधारणले सकारात्मक रुपले लिएका छन । तर, नियन्त्रणमा लिइएका सवारी साधनलाई प्रहरीले व्यवस्थापन गर्न सकेको देखिएको छैन । जुन स्थानमा नियन्त्रण गरिएको छ त्यही स्थानमा पार्किङ गरेर राख्दा कतिपय सवारी धनीले रातिको समयमा आफ्ना सवारी साधनलाई अर्को चाँबी प्रयोग गरेर कतिपयले डोर्याउदै पनि लग्ने गरेको पाइएको छ ।
नियन्त्रण गरिएका सवारी साधनलाई कुनै निश्चित स्थानमा लगेर पार्किङ गर्न सके यो कारवाही थप प्रभावकारी हुने देखिन्छ । त्यसैगरी, सहरको मुख्य सडकमा मात्र नभएर भित्री सडकमा समेत प्रहरी सक्रियताको आवश्यक देखिन्छ ।