प्रधानमन्त्री ओलीले आज ११ बजे सम्बोधन गर्दै

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले आज विहान ११ बजे देशका नाममा सम्वोधन गर्दैछन् । विश्वलाई आक्रान्त बनाइरहेको र नेपाललाई समेत संक्रमित बनाइसकेको कोरोना रोकथाम तथा नियन्त्रणमा सरकारले गरेका तयारीबारे जानकारी दिन प्रधानमन्त्रीले देशका नाममा सम्बोधन गर्ने उनका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले जानकारी दिएका छन् ।

प्रधानमन्त्रीले सोमबार बसेको मन्त्रिपरिषद बैठकमा महामारीका रुपमा रहेको कोरोना संक्रमण नियन्त्रण, रोकथाम र उपचारबारे सरकारले अहिलेसम्मका गरेका तयारी र कार्ययोजनाबारे आफूले सम्बोधन गर्न लागेको जानकारी गराएका थिए ।

सम्बोधनका क्रममा प्रधानमन्त्रीले स्वास्थ्यकर्मीलाई निर्धक्क भएर उपचार कार्यमा संलग्न हुन र सर्वसाधारणलाई सचेत रहन आग्रह गर्ने स्रोतले जानकारी दिएको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद बैठकले चैत ११ गतेबाट शुरु भएको लकडाउन पुनः एक साता थप्दै वैशाख ३ गतेसम्म बढाएको छ । जारी लकडाउनका कारण सर्वसाधरण नागरिकको जीवनयापनमा समस्या थपिएको छ । सरकारले मजदुर, विपन्न र असहायलाई राहत वितरणको काम समेत गर्दै आएको छ । तर, कतिपय ठाउँमा समन्वय अभावका कारण राहत वितरणमा समस्या देखिएको पनि छ ।