स्वास्थ्य सामग्री खरिदमा अनियमितता भएको कांग्रेसको ठहर

काठमाडौं, प्रमुख विपक्षी दल नेपाली कांग्रेसको मंगलबार बसेको पदाधिकारी बैठकले कोरोनाभाइरस नियन्त्रणका लागि सरकारले स्वास्थ्य सामग्री खरिद गर्दा अनियमितता भएको ठहर गरेको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको बैठकले अनियमितताको गम्भीर छानबिन गरी कारबाही गर्न माग गरेको छ ।

कांग्रेसले कोरोनाभाइरस नियन्त्रणमा सरकारले पाएको पर्याप्त समयलाई उपलब्धिमूलक बनाउन नसकेको ठहर पनि गरेको छ । प्रमुख विपक्षी दलले देश कोरोनाभाइरस संक्रमणको दोस्रो चरणमा प्रवेश गरिसकेको विश्लेषण गर्दै परीक्षणलाई व्यापक बनाउन सरकारसँग माग पनि गरेको छ ।

यस्तै, ‘पीपीई’, परीक्षण किट, भेन्टिलेटरलगायतका अत्यावश्यक सामग्रीको अभाव देखिएकाले तत्काल व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गरिएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

कांग्रेसले स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र संकटको घडीमा अहोरात्र खटिने सञ्चारकर्मीहरुलाई प्रोत्साहित गर्न माग गर्दै संकटको घडीमा सरकारलाई हरसम्भव सहयोग गर्ने प्रतिबद्धता पनि जनाएको छ ।