कोरोना रोकथामबारे देउवाले बोलाए पदाधिकारी बैठक
काठमाडौं ,नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारीको बैठक बोलाएका छन् । सभापति देउवाले आफ्नो निवास बूढानीकण्ठमा मंगलबार विहान १० बजेका लागि बैठक बोलाइएको एक जना पदाधिकारीले जानकारी दिए ।
कोषाध्यक्ष बाहेकका सबै पदाधिकारीहरु काठमाडौंमा नै छन् । बैठकमा सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापतिद्वय विमलेन्द्र निधि, विजयकुमार गच्छदार, महामन्त्रीद्वय शशांक कोइराला, पूर्णबहादुर खड्का र प्रवक्त विश्वप्रकाश शर्माको सहभागिता रहने छ । कोषाध्यक्ष सीतादेवी यादव उपत्यका बाहिर रहेकाले बैठकमा सहभागी नसक्ने जनाइएको छ ।
बैठकमा कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकार थप बल कसरी पुर्याउन सकिन्छ, संगठित रुपमा कसरी आवाज उठाउन सकिन्छ, देशभरका पार्टीका नेता कार्यकचर्ता र स्वास्थ्यकर्मीहरुको मनोबल थप कसरी बढाउन सकिन्छ भन्ने लगायतका विषयमा छलफल हुनेछ ।
नेताहरुले पदाधिकारी बैठक नबस्दा सरकारलाई आधिकारिक रुपमा सुझाव र दबाब दिन नसकिएको गुनासो गरेपछि देउवाले सभापति देउवाले बैठक बोलाएका हुन् । पछिले समय उनी कोरोना रोकथाममा लागि निकै सक्रिय देखिएका छन् ।
सभापति देउवाले आइतबार पूर्वप्रधानमन्त्रीहरु पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, झलनाथ खनाल, डा. बाबुराम भट्टराई, लोकेन्द्रबहादुर चन्द र मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीसँग टेलिफोन संवाद गरेका थिए । आजको संकटबाट नेपाल र नेपालीलाई जोगाउन एक्यवद्ध भएर गम्भीर ढंगले कार्य गरौं भन्दै सभापति देउवाले अपील गरेको थिए ।
यस्तै सोमबार देउवाले कोरोनाको उच्च जोखिममा रहेको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट र कैलाली कञ्चनपुरलगायतका जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग टेलिफोन संवाद गरेका थिए । कोरोना रोकथामका लागि भइरहेको तयारीबारे जानकारी लिन सभापति देउवाले सोमबार साँझ मुख्यमन्त्री र तराईका दुई जिल्ला कैलाली र कञ्चनपुरका प्रमुख जिल्ला अधिकारीसँगको टेलिफोन संवाद गरेका थिए ।
संवादपछि उनले भनेका थिए, ‘मुख्यमन्त्री, कैलाली र कञ्चनपुरलगायतका जिल्लाका प्रजिअसँग फोन संवाद यही महसुस गरेँ । व्यापक परीक्षण तत्काल गति बढाउनुपर्ने स्थिति छ । सरकारको ध्यानाकर्षण गराउँछु ।’ सभापति देउवाले केन्द्र सरकारलाई पनि प्रेस विज्ञप्ति जारी गर्दै बारम्बार सुझाव र ध्यानाकर्षण गराउँदै आएका छन् ।