अन्तर्राष्ट्रिय हवाई उडान वैशाख १८ गतेसम्म बन्द

काठमाडौं । सरकारले अन्तर्राष्ट्रिय हवाई उडानलाई वैशाख १८ गते (अप्रिल ३०) सम्म बन्द गर्ने निर्णय गरेको छ । कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको मंगलबारको बैठकले वैशाख ३ गते (अप्रिल १५) सम्म सबै अन्तर्राष्ट्रिय हवाई उडान स्थागित भएकामा १५ दिन थप गरी वैशाख १८ सम्म उडान स्थगित गर्ने निर्णय गरेको हो ।

बैठकले आन्तरिक उडानलाई के गर्ने भन्ने विषयमा कुनै निर्णय नभएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव नारायणप्रसाद बिडारीले जानकारी दिए । आन्तरिक उडान भने वैशाख ३ सम्म बन्द गरिएको छ । बैठकले कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको उच्च जोखिम भएका जिल्लाहरूमा ¥यापिड किटमार्फत परीक्षणलाई बढाउने निर्णय गरेको समेत उनले बताए । कैलाली, कञ्चनपुर र बागलुङमा आरडीटी पद्धतिबाट शीघ्र परीक्षण गर्ने र त्यसबाट पोजेटिभ देखिए पीसीआर मेसिनबाट परीक्षण गर्ने निर्णय भएको पनि उनले बताए । बैठकले संक्रमणको बढी सम्भावना भएका जिल्लाहरू डोटी, अछाम, जुम्लामा पनि सघन रूपमा परीक्षणलाई अगाडि बढाउने निर्णय गरेको छ ।

समिति बैठकले सबैखालका आपूर्ति र विशेषगरी खाद्य वस्तुको आपूर्तिलाई स्वभाविक राख्ने, आवागमनमा कडाइका साथ निगरानी कायमै राख्ने र आपूर्ति नियमित गर्ने निर्णय भएको सचिव बिडारीले बताए । स्वास्थ्य सामग्रीहरूको खरिदका सम्बन्धमा नेपाल सरकारले प्रचलित कानुनबमोजिम विशेष परिस्थितिमा अपनाइने कार्यविधिकै आधारमा छोटो र छिटो विधिबाट खरिद गर्ने विषयमा छलफल भएको सचिव बिडारीको भनाइ छ ।

स्वास्थ्य सेवा विभागले प्रक्रियागत रूपले खरिद गर्ने कामलाई कायम राख्ने र स्वास्थ्य मन्त्रालयको समन्वयमा आवश्यक स्वास्थ्य सामग्रीको संख्या र किसिम पहिचान गरी नेपाली सेनामार्फत सरकार सरकार (जीटुजी) मार्फत प्रत्यक्ष खरिद गर्ने प्रक्रिया अगाडि बढाएर छिटो सामग्री ल्याउने विषयमा समेत छलफल भएको उनले बताए । त्यस्तै विदेशमा रहेका कूटनीतिक नियोगसँग समेत समन्वय गरी सामान ल्याउने निर्णय पनि बैठकले गरेको छ । सचिव बिडारीले कोभिड १९ को संक्रमणका कारण अर्थतन्त्रमा पार्ने असरका विषयमा राष्ट्रिय योजना आयोगले अध्ययन गरिरहेको जानकारी पनि दिए ।

बैठकमा लकडाउन कार्यान्वयनका लागि भएका कामहरूको विषयमा समीक्षा भएको थियो । सरकारले लकडाउनको स्थितिको प्रभावमा परेका १ लाख १४ हजार ३ सय १६ परिवारलाई राहत वितरण गरेको सचिव विडारीले जानकारी दिए । त्यस्तै ३० हजार ५ सय व्यक्ति अहिले विभिन्न स्थानमा क्वारेन्टाइनमा रहेको समेत उनले बताए । लकडाउनको अवस्थमा २ हजार ६ सयभन्दा बढी व्यक्तिलाई कारबाही गरी सम्झाएर छाडेको र २ हजार २ सय ३५ सवारीसाधनलाई कारबाही गरिएको छ ।

यस्तै कोरोना भाइरस संक्रमणको आशंका लागेकाहरूलाई सेवा दिन देशैभर १९ सय ३९ एम्बुलेन्स तयारी अवस्थामा राख्ने गरी व्यवस्थापन गरिएको जानकारीसमेत सचिव बिडारीले गराए ।