बाँके बर्दियाका सीमामा बढाइयो सुरक्षा सतर्कता , आवागमनमा रोक

नेपालगन्ज,  एकैदिन भारतसँग सीमा जोडिएका कैलाली र कञ्चनपुरमा तीन जनामा कोरोना संक्रमण देखिएपछि बाँके बर्दियाका सीमामा उच्च सर्तकता अपनाइएको छ । भारत र नेपालतर्फका सीमा नाकाका जिल्लाहरुमा कोरोना भाइरस संक्रमणका बिरामीहरु बढेसँगै सीमा क्षेत्रमा उच्च सर्तकता अपनाइएको हाे । 

दुवै जिल्लाका सीमा क्षेत्रमा उच्च सर्तकता अपनाउनको लागि आइतबारबाट सशस्त्र प्रहरीको संख्या समेत बढाइएको छ । कैलाली र कञ्चनपुरका ३ जनामा कोरोना संक्रमण देखिएपछि बाँकेका सबै सीमा क्षेत्रमा सुरक्षा सर्तकता अपनाउँदै सशस्त्र थपिएको सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेका गणपती एवं सशस्त्र प्रहरी उपरीक्षक दीपक अधिकारीले जानकारी दिए ।

‘विगतदेखि नै हामीले भारतसँग सीमा जोडिएका क्षेत्रमा उच्च सुरक्षा सर्तकता अपनाएका थियौं’ उनले भने, ‘आइतबार मात्रै सीमा क्षेत्रमा थप १ सय २० जना सशस्त्र प्रहरी परिचालन गरेका छौं ।’ भारतसँग बाँकेको ६५ किलोमिटर खुल्ला सीमा जोडिएको छ ।

भारतबाट आएका नेपालीहरुमा कोरोना संक्रमण देखिएपछि खुल्ला सीमानाको फाइदा उठाउँदै घर फर्किने नेपालीहरु प्रवेश गर्नसक्ने अवस्थालाई मध्यनजर गरेर सीमामा उच्च सर्तकता अपनाइएको हो ।

‘भारतबाट अब हामी एक जना पनि नेपाल छिर्न दिँदैनौं, चोर बाटोबाट हुने आवागमनलाई पूर्णरुपमा नियन्त्रण गर्न पहिले भएको जनशक्तिमा १ सय २० जना थपेका छौं’ सशस्त्र प्रहरी उपरीक्षक अधिकारीले भने, ‘खडैंचा र पानीट्यांकीको फरवार्ड वेशमा पनि जनशक्ति बढाएका छौं । कसैलाई पनि छिर्न नदिन कडा निर्देशन दिइएको छ ।’

कोरोना संक्रमणबाट बच्न बाँके र भारतको बहराइचका मुख्य सीमानाकामा मात्र नभई जिल्लाका विभिन्न चोर बाटोबाट समेत लुकीछिपी भारतबाट मानिसहरु आउनेक्रम नरोकिएपछि सशस्त्र प्रहरीले बढीमा एक किलोमिटरको फरकमा परिचालन हुनेगरी सीमामा सशस्त्र परिचालन गरेको हो ।

सीमामा निगरानी बढाउन बाँकेमा रहेका सबै ६ वटा बोर्डर आउट पोष्ट ९बिओपी० मा थप सशस्त्र प्रहरी पठाइएको सशस्त्र प्रहरी उपरीक्षक अधिकारीले बताए । जिल्लाको नरैनापुर गाउँपालिका अन्तर्गतका नरैनापुर, गंगापुर, कटकुइँया, डुडुवा गाउँपालिकाको कालाबञ्जर, नेपालगञ्जको जयसपुर र जानकी गाउँपालिकाको बढैैैैैया बिओपीसहित डुडुवा गाँउपालिका–१, होलियास्थित खडँैचा र जानकी गाँउपालिका–१ बेलभारस्थित बढैैैैैया बिओपीको पानी ट्यांकीस्थित फरवार्ड बेश क्याम्पमा थप सशस्त्र प्रहरी पठाइएको थियो ।

यसैगरी भारतसँग सीमा जोडिएका बर्दियामा समेत थप सशस्त्र प्रहरी आइतबारबाट परिचालन गरिएको छ । सीमा क्षेत्रमा कडाई गर्न थप १ सय ५० सशस्त्र प्रहरी परिचालन गरिएको बर्दियाका सशस्त्र प्रहरी उपरीक्षक यादव विकले जानकारी दिए ।

‘पहिलेदेखि नै सशस्त्रले सीमामा कडाइ गरेको थियो’ उनले भने, ‘सीमा सुरक्षा थप प्रभावकारी बनाउँन थप प्रहरी परिचालित गरिएको हो ।’ अब खुला सीमामा आवागम पूर्ण रुपमा रोकिनेछ । बर्दियामा ८२ किलोमिटर खुला सीमाना रहेको छ ।

दुवै जिल्लामा सीमा क्षेत्रमा नेपाल प्रहरीले समेत जनशक्ति बढाएर सुरक्षामा कडाई गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक बीर बहादुर ओलीले भारतबाट आएकाहरुमा कोरोना संक्रमण देखिएपछि सीमामा सुरक्षा कडाई पारिएको बताए । ‘भारतसँगका मुख्य नाकामा प्रहरीले पहिलेदेखि नै उच्च सर्तकताका साथै कडाई समेत गरिरहेको थियो’ उनले भने, ‘मुख्य नाका बाहेक अन्य खुला क्षेत्रमा समेत जिल्लाबाट थप प्रहरी पठाएर निगरानी बढाएका छौं ।’

यता, सीमा क्षेत्रमा रहेका नेपाल प्रहरीका यूनिटले कडाईका साथ सीमा आवामन रोक्न लागि परेको छ । ‘नेपाल प्रहरीका यूनिटले सीमामा निगरानी बढाईरहेको छ’ बर्दियाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजेश नाथ वास्तोलाले भने, ‘लुकिछिपि नेपाल छिर्नेलाई सयौं जना प्रहरीले क्वारेन्टाईनमा ल्याएर छोडेको छ ।’ सीमा सुरक्षामा सशस्त्र प्रहरीको संख्या थपेसँगै लुकीछिपी नेपाल प्रवेश गर्नेलाई भारतमै फर्काइनेछ ।