साउदी अरबमा ४ नेपालीलाई कोरोना संक्रमित

काठमाडौँ, साउदी अरबमा कार्यरत ४ नेपाली कामदार कोरोना भाइरसबाट संक्रमित भएका छन् । साउदी अरबका लागि नेपाली राजदूत महेन्द्रसिंह राजपुतले ४ जना नेपाली संक्रमित भएको पुष्टि गरेका छन  । ‘हामीलाई साउदी सरकारले ४ जना नेपालीलाई पोजिटिभ देखिएको विवरण आइतबार उपलब्ध गराएको छ’, राजदूत राजपुतले  भने,‘उनीहरुको अवस्था स्थिर छ ।’

ती नेपाली साउदी अरब कुन प्रान्तमा कार्यरत थिए भन्ने खुलाइएको छैन । उनले स्वदेशी र विदेशी कामदारबीच उपचारमा कुनै विभेद नगरिएको बताए । ‘जो जो नेपाली भाइरसबाट संक्रमित हुनुभएको छ । उहाँ र उहाँका परिवारलाई ढुक्क हुन अनुरोध गर्दछु’, उनले भने,‘साउदीमा उपचार पद्धति निकै गुणस्तरीय छ । उपचार नि:शुल्क रुपमा हुनेछ ।’

आइतबारसम्म साउदीभर कोरोना भाइरसबाट संक्रमितको संख्या २३ सय ७० पुगेको छ । शनिबारमात्रै थप १४० जनामा संक्रमण देखिएको छ । राजधानी रियादमा मात्र ६६ जनामा संक्रमण भएको । कूल संक्रमितहरुमध्ये हालसम्म ४२० जना निको भएका छन् । २९ जना संक्रमितको मृत्यु भएको छ ।

दूतावासका अनुसार कोरोना भाइरसको संक्रमण रोक्न साउदी सरकारले शनिबारबाट लागू हुने गरी जेद्दाका विभिन्न क्षेत्रमा २४ घण्टे कर्फ्यू जारी गरेको छ । रियाद र दमाम क्षेत्रमा दिउँसो ३ देखि बिहान ६ बजेसम्म मात्रै कर्फ्यू लगाएको छ । दूतावासले कर्फ्यूको समयलाई पूर्ण पालना गर्नु नेपाली समुदायलाई आग्रह गरेको छ । राजदूत राजपुतले आवासीय परिचयपत्र (अकामा) को म्याद सकिएका कामदारको अकामा तीन महिनाका लागि स्वत: नवीकरण हुने बताए ।

‘मार्च १८ वा सो पछि अकामाको म्याद सकिएकाहरु र जून ३० सम्म म्याद सकिनेहरुका लागि यो सुविधा उपलब्ध हुनेछ । यो व्यवस्थाले साउदीभित्र वा बाहिर भएका सबैलाई समेट्नेछ’, उनले भने, ‘अकमाको स्वत: नवीकरणको जानकारी टेलिफोनमा सन्देश पठाई गरिने समेत व्यवस्था गरिएको छ ।’ दूतावासले कर्फ्यू पालना वा उल्लंघनसम्बन्धी कुनै पनि भिडियोहरु सामाजिक सञ्जालमा नराख्नुहुन पनि अनुरोध गरेको छ । कान्तिपुरबाट