लकडाउनको १३ औं दिनः जनजीवन असहज बन्दै

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) का कारण नेपालमा लकडाउन लगाइएको आइतबार १३ दिन भएको छ । बिस्तारै  जनजीवन असहज बन्दै गइरहेको छ । संक्रमण फैलिन नदिन घरमै बस्न आग्रह गरे अनुसार सरकाले लकडाउन लगाएको हो । पहिलो पटक थपिएको लकडाउन २५ चैतमा सकिँदैछ ।

दोस्रो पटक कम्तीमा एक साता लकडाउन थप्ने तयारी भइरहेको बताइएको छ । यता लकडाउन तोड्नेको संख्या पनि उल्लेख्य रहेको छ । मुख्य सडकहरुमा लकडाउन तोड्नेलाई प्रहरीले नियन्त्रणमा लिएर राख्ने गरेको छ भने भित्री सडकहरुमा व्यापक उल्लंघन भएको छ ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रहरी नायब निरीक्षक हरजित सिंह कुँवरका अनुसार उपत्यकाको शान्ति व्यवस्था सामान्य रहेको छ । बिहान लकडाउन उल्लंघन गर्नेहरु ८५ पुरुष र महिला ३६ गरी १२१ जना काठमाडौंबाट पक्राउ परेका छन् ।

ललितपुरमा ६ महिलासहित ३८ र भक्तपुरमा २ महिलासहित ५५ जनालाई नियन्त्रणमा लिइएको छ । सम्झाइबुझाइ गरेर प्रहरीले तीन घण्टा होल्डमा राखेर छोडिँदै आएको छ । बिहान २ सय १४ जनालाई नियन्त्रणमा लिएको छ भने बिहान नै २ चार पाङ्ग्रेसहित ५२ सवारीलाई नियन्त्रणमा लिइसकेको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका फिल्ड अधिकृत निरीक्षक दामोदर भट्टका अनुसार फाटफुट अत्यावश्यकीय सामग्रीहरु बोकेका गाडी गुडेका छन् । ४६ वटा स्थानमा २४ ऐ घण्टा चेकिङ हुन्छ ।

विगत २४ घण्टामा काठमाडौं उपत्यकाबाट ५७१ गाडी बाहिरिएका थिए भने ४९० गाडी काठमाडौं उपत्यका भित्रिएका थिए । २ हजार बढी मानिस बाहिरिँदा १३ सय मानिस भित्रिएका छन् ।

शनिबार ५७६ सवारी साधन होल्ड गरिएको थियो । १३५ सवारी अझै होल्डमा छन् । उपत्यका बाहिर पनि लकडाउनको उल्लंघन गर्नेहरु बढिरहेका छन् ।