राहतकोलागि दुई समूहबीच झडप, एक दर्जन घाईते
सुनसरी, लकडाउनको बेला सुनसरीको दुहबी नगरपालिका वडा नम्बर ९ छातावेलीमा दुई पक्षबीचमा झडाप हुँदा दर्जन बढी घाइते भएका छन्। उनीहरूको दुहबीका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। वडानम्बर ९ मा रहेको जयबाबा इँटा उद्योग लकडाउनका बेला पनि सञ्चालनमा रहेको भन्दै बन्द गर्न प्रहरीमा खबर गरेको विषयलाई लिएर झडप भएको एक पक्षले जनाएको छ।
अर्को पक्षले भने इँटा भट्टाको विषयमा नभई राहत सामग्री हिनामिना गरेको भन्दै आरोप लगाएपछि झडप भएको दाबी गरेको छ। झडप दुहबी वडा नम्बर ९ का वडाध्यक्ष मेहदी हुसेन समूह र सोही स्थानका मुस्ताकिम आलाम समूहका बीचमा भएको हो। बंगलादेश, भारतलगायतका देशबाट आएका मजदुहरू लकडाउनका बेला पनि इँटा भट्टामा रहेको र उनीहरूले कोरोना संक्रमण फैलाउने भन्दै मुस्ताकिमको समूहले उद्योग बन्द गर्न माग गरेका थिए।
तर, वडानम्बर ९ का वडाध्यक्ष मेहदी हुसेनको समूहले व्यवस्थापन हेरिरहेको सो उद्योग बन्द नभएपछि मुस्ताकिमले प्रहरी र पत्रकारलाई दुई दिन अघि खबर गरेका थिए। प्रहरी र पत्रकारलाई खबर गरेर आफूहरूको बेइज्जत गरेको र उद्योग बन्द गराउन खोजेको भन्दै हुसेन समूहले घरमै आएर आक्रमण गरेको मुस्ताकिम मियाँले बताए।
वडाअध्यक्ष मेहदीले भने राहत हिनामिना गरेको र पीडितका नाममा आएको पैसा खाएको भनेर हल्ला गर्दै हिडेकाले सम्झाउने क्रममा झगडा भएको बताए। झडपका क्रममा दुवै पक्षका घाइते भएका छन्। झडपका क्रममा वडाअध्यक्ष मेहदी हुसेनका भतिजा नुर हुसेन र अमिल हुस्सेनलगायत ४ जना घाइते भएका छन्।
अर्को पक्षबाट भने मुस्ताकिम मियाँ, सद्याम मियाँ, मुस्ताक मियाँ, इस्तियाक मियाँ अर्मान मियाँ, हाजी रमजान, जियायुद्यिन मियाँ, समृधिन मियाँ, घाइते भएका छन्। उनीहरूको सुनसरी सामुदायिक अस्पतालमा उपचार भइरहेको छ।
जयबावा इँटा उद्योगमा एक हजार जना भन्दा बढि मजदुहरु कार्यरत रहेका छन्। सो उद्योग सञ्चालनमा रहेको छ। वडाअध्यक्ष हुसेनले भने उद्योग बन्द हुँदा बंगलादेशी र भारतीय मजदुर गाउँभरि जाने र समस्या हुने भएकाले भित्रै बस्नका लागि सञ्चालनमा रहेको बताए।
उनले भने, ‘मजदुरलाई भित्र बाहिर गर्न दिएका छैनौँ।’