महामारीमा अर्बपति बन्न खोज्ने महाशयहरू
नेपालसहित पूरै विश्व कडा लकडाउनमा छ । यही लकडाउन र कोरोना भाइरसको महामारीमा केही नेपालीले भने अर्बपति बन्ने मौका छोपे । तर, राजनीतिक, व्यवसायिक र पारिवारिक चोचोमोचो मिलाउँदै गरिएको उनीहरूको योजना सातामै चकनाचुर भयो । गुल्मीका तुलबहादुर सिंह (हरि), केशरबहादुर सिंह र पारस केसीले विगतदेखि नै सिंगापुर र भारतमा रहेको आफ्ना कम्पनीसँग मिलेर इधरका माल उधरको काम गर्थे । तुलबहादुर सिंगापुरस्थित आफ्नै ससुराको ओम्नी ग्रुप र भारतस्थित ओजीसी टेक्नोलोजिज्का निर्देशक हुन् ।
नेपालमा पनि कोरोना भित्रिने देखिएपछि भारतीयमूलकी सिंगापुरे युवतीका श्रीमान् हरिको समूहमा पहिलेदेखि सहकार्य गर्दै आएका रविन श्रेष्ठलगायतकाले अर्बौं कमाउने योजना बुने । रविनको योजनामा सरकारको माथिल्लो निकायसम्म तत्काल पहुँच पुर्याउने प्रयोजनका लागि समूहमा थपिए, जोडिए, उनका बहिनी ज्वाईं । श्रेष्ठ हिमालयन ह्वाइट हाउस इन्टरनेशनल कलेजका प्रिन्सिपल तथा बोर्ड पे्रसिडेण्ट युवराज शर्मा श्रेष्ठका जेठान् हुन् ।
शर्मा नेपाल सरकारले हालै गठन गरेको कोभिड–१९ उच्चस्तरीय समन्वय समितिको क्वारेण्टाइन व्यवस्थापन उपसमितिमा सदस्य छन् । समितिका संयोजकलगायतकासँग आफूहरूको योजना बुझाउन र फत्ते गर्न ज्वाईंको संलग्नताले सहज हुने पनि उनीहरूले निश्कर्ष निकाले । हुनत, शर्मा हिसानका वरिष्ठ उपाध्यक्ष समेत हुन् । केही दिन अघिसम्म सामाजिक सञ्जालमा आफ्नो कलेजको र हिसानको पद दुवै उल्लेख गरेका शर्माले खरिद प्रकरणको विवाद बढेपछि हिसानको उपाध्यक्ष मात्र लेखेका छन् ।
काठमाडौंको पुतलीसडक ठेगाना राखेर विभिन्न संघ, संस्था दर्ता गरेका श्रेष्ठ कालोपुलका हुन् । तर, उनी नुवाकोटको त्रिशूली बजारमा जन्मिएर हुर्केका थिए । शुद्ध पञ्चायती पारिवारिक पृष्ठभूमीका उनी पछिल्ला दिनमा तत्कालीन एमालेका उच्च नेतासमक्ष पहुँच पुर्याएर जस्तो काम पनि हत्याउन सफल हुँदै आएका थिए । त्यसमा गुल्मीका सिंह र झापाका शर्माले सबैभन्दा धेरै काँध हालेको देखिन्छ । सिंह र शर्माको पृष्ठभूमि वामपन्थी रहेकाले पनि उनीहरूलाई तत्कालीन एमालेका नेतासमक्ष पुग्न त्यत्ति सकस भएन ।
पहिले एउटी मोडलसँग विवाह गरेका शर्माको पुर्खा पनि प्रधानमन्त्री ओलीको जन्मस्थान तेह्रथुमबाटै झापा झरेको थियो । आफूले शर्मा लेखे पनि सिवाकोटी थरका युवराजका बुबा र काकाहरू प्रधानमन्त्री ओलीका दौंतरी थिए । गत फागुनमा जन्मदिन मनाउन प्रधानमन्त्री तेह्रथुम गएको बखत शर्मा श्रेष्ठलाई समेत लिएर पुगेका थिए । श्रेष्ठले सामाजिक सञ्जालमा पोष्ट गरेको एउटा फोटोमा उनी, शर्मा, मन्त्री योगेश भट्टराई, नेता कृष्णगोपाल श्रेष्ठ र ताप्लेजुङ्गका स्थानीय नेकपा नेतासँगै गफिएको देखिन्थ्यो ।
श्रेष्ठले दर्ता गरेका विभिन्न संस्थामध्ये मल्टिनेसनल एडभरटाइजर्स, अनिता बिजनेश हाउस र अनिता सप्लायर्सको सञ्चालकमा उनकै बहिनी तथा शर्माकी कान्छी श्रीमती बबिता श्रेष्ठ देखिन्छिन् । ती प्राइभेट कम्पनीले सरकारी निर्माण, ठेक्कापट्टा, सरकारी कार्यालयमा स्टेशनरीदेखि अन्य सामानको आपूर्ति, क्लिनिक तथा नीजि अस्पतालमा सेटिङ्ग मिलाएर स्वास्थ्य उपकरण आपूर्ति गर्दै आइरहेको थियो । बबिता र रबिनले पछिल्लो दिनमा काठमाडौंका ठूला ब्युटी पार्लर, कस्मेटिक शप तथा डिपार्टमेण्ट स्टोरमा लिपिस्टिक, क्रिम, पाउडर, गाजल, नङ्ग पालिसको व्यापार गर्दै आएका थिए । उनीहरूले नेपालको लागि रेभ्लोनको डिलरसीप लिएका छन् ।
यसअघि छोटो समयमै जुनसुकै सरकारी काम पनि हात पारेर रातारात करोडपति बनिसकेका रबिन, हरि, केशरबहादुर र पारससँगै शर्मा दम्पति मिलेर महामारीमा राजनीतिक पहुँचलाई सदुपयोग गर्ने निश्कर्ष निकाले । यही मौकामा सबैजना अरबपति बन्ने दाउमा ओम्नी समूहको सहायक संस्था ओबीसीआईलाई प्रयोग गर्ने निधो पनि गरे ।
सेटिङ्गबमोजिम पहिले ओबीसीआईले चीनबाट स्वास्थ्य उपकरण ल्याउने र त्यसपछि सरकारले सोझै खरिद गर्ने प्रपञ्च रचियो । ओबीसीआईको प्रस्ताव अन्यभन्दा सस्तो बनाउन उनीहरूले अनिता सप्लायर्सको नाममा बढी मूल्य उल्लेख गरिएको अर्को प्रस्ताव पनि पेश गरेका थिए । जनआस्थाबाट