पहिलो सन्तान जन्मिएको केही घन्टामै कोरोनाले आमाको मृत्यु

युक्रेन,कोरोना भाइरसका कारण युक्रेनमा पहिलो सन्तानलाई जन्म दिनेबित्तिकै आमाको मृत्यु भएको छ । गलिना नाम गरेकी ती ३६ वर्षे आमाले मातृत्व अनुभव गर्न नपाई कोरोना भाइरसका कारण मृत्युवरण गरेकी हुन् ।

बच्चालाई जन्म दिएको केही घण्टाभित्रै उनको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । पश्चिमी युक्रेनको इनाभो–फ्रान्किभ्स्क शहरमा उनको मृत्यु भएको जनाइएको छ ।

मार्च १० का दिन कुनै लक्षण नदेखिएपनि ती गर्भवतीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । संक्रमित पुष्टि भएको १९ दिनपछि उनीमा कोरोना भाइरसको गम्भीर लक्षण देखिएको थियो ।

उनले मार्च २९ मा २.५ किलोग्रामकी छोरीलाई जन्म दिएकी थिइन् । सुत्केरी भएलगत्तै उनीको अवस्था झन् खराब भएको र पछि निमोनियाबाट ग्रस्त भएपछि उनको मृत्यु भएको थियो ।

यद्यपि उनले जन्म दिएकी नवजातमा कोरोना भाइरसको परीक्षण गर्दा नेगेटिभ आएको र उनलाई उच्च सतर्कतासाथ निगरानीमा राखिएको युक्रेनी अधिकारीले जनाएका छन् ।