सरकारलाई काँग्रेसको ५ बुँदे प्रस्ताव

काठमाडौं,नेपाली कांग्रेसले कोरोनाको परीक्षण व्यापक रुपमा गर्न माग गरेको छ। नेपली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गर्दै परीक्षण बढाउन माग गरेका हुन्। ‘चीनको सफलताबाट सिक्ने कि कतिपय देशको झैं भयावह स्थिति प्रतीक्षा गर्ने? सरकार! अझै साइत कुर्ने कि व्यापक परिक्षणमा लाग्ने?’, कांग्रेसले शनिवार जारी गरेको विज्ञप्तिमा भनिएको छ।

सामाजिक सञ्जाल ट्वीटरमा प्रवक्ता शर्माले थप लेखेका छन्, ‘हजारौंको जीवन `आहुति´ पछि मात्रै ब्युँझने होइन भने…ढिलासुस्ती र अकर्मण्यतालाई आजको दिनमै आहुति देउ सरकार!’

कैलालीमा एक स्थानीय महिलामा कोरोना संक्रमण देखिएको बिषयलाई तत्काल गम्भीरतापूर्वक लिएर परीक्षणको व्यापकता बढाउन नेपाली कांग्रेसले अनुरोध गरेको हो।

विज्ञप्तिमा काँग्रेसले सरकारलाई ५ बुँदे प्रस्तावसमेत राखेको छ।

यस्तो छ काँग्रेसको ५ बुँदे प्रस्ताव

(१) यसअघि संक्रमण देखिएका ६ जना सबै बिदेशबाट आएका नेपाली थिए। तर सातौंमा संक्रमण स्थानीयमा देखिनुको अर्थ हो हामी अब गम्भीरताको दोस्रो चरणमा पुगेका छौं।

(२) ती महिलाले संक्रमण कही बाहिरबाट लिएर आइनन्, हाम्रो गम्भीर सतर्कता नपुग्नुको परिणाममा उनी संक्रमित बन्न पुगिन्। समयमै दोहोरो अन्तर्राष्ट्रिय उडान रोक्ने, बाहिरबाट आएका नेपालीलाई अनिवार्य क्वारेन्टाइनमा राख्ने र परिक्षणको दायरा विस्तार गर्ने कार्य गरेको भए खतराको आकार बढेर जाने थिएन।

(३) सरकारलाई हाम्रो अपिल छ, यसअघि संक्रमित देखिएका सबैको परिवारजन, छरछिमेकी र घुलमिल भएका साथी समूहको परीक्षण, परीक्षण र परीक्षण, तत्काल, तत्काल र तत्काल गरौं ।

(४) बाहिरबाट आएका सबै नेपालीलाई तत्काल अनिवार्य रुपमा क्वारेन्टाइनमा बस्न कडाइका साथ सूचना जारी गरौं र सबै स्थानीय तह र स्थानीय प्रशासन मार्फत सूचनालाई कडाइका साथ कार्यान्वयन गरौं।

(५) स्थानीय एक तथा अन्य दुइमा गरेर एकै दिन तीन जनामा संक्रमण देखिएको आजको दिन सबै खाले ढिलासुस्ती र अकर्मण्यतालाई आहुती दिएर व्यापक सतर्कता, व्यापक परीक्षण र व्यापक उपचार बढाउने क्रममा सरकार युद्धस्तरमा प्रवेश गर्ने दिन बन्नुपर्छ।

अब रत्तिभर हेलचेक्र्यांईको अर्थ हुनेछ, समुदायमा संक्रमण फैलन छुट, जसको परिणाम भयावह हुन सक्छ। समयको गम्भीरता अनुरुप सरकारले गति बढाओस्।