कोरोनाबारे गलत हल्ला फैलाउने एकजना पक्राउ

कञ्चनपुर, सामाजिक सञ्जाल फेसबुकमा कोरोना भाइरसबारे गलत भ्रम फैलाएर मानिसलाई तर्साएको आरोपमा एक युवालाई कञ्चनपुर प्रहरीले पक्राउ गरेको छ । महेन्द्रनगरस्थित ‘महाकाली अस्पतालमा कोरोना भाइरसको संक्रमणका कारण एक जनाको मृत्यु भयो’ भनेर सामाजिक सञ्जाल फेसबुक लेखेर गलत हल्ला फैलाउने अन्दाजी २४ वर्षीय गोला सुनारलाई प्रहरीले पक्राउ गरेको हो ।

बेलडाँडी गाउँपालिकाका घर भएका सुनारलाई शुक्रबार बेलुका घरबाटै नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय (कञ्चनपुर) का डीएसपी रविन्द्र पौडेलले जानकारी दिएका छन् । सुनारले शुक्रबार बिहान फेसबुकमा ‘महेन्द्रनगरको अञ्चल अस्पतालमा एक जनाको मृत्यु, कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ’ भनेर लेखेका थिए ।

उनी दुई साता अगाडि मात्रै भारतमा मजदुरी गरी घर फर्किएको खुलेको प्रहरीको भनाई छ । मानिसले लकडाउनको अवेज्ञा गरेको देखेर तर्साउन फेसबुकमा यस्तो कुरा लेखेको उनले प्रहरीसमक्ष बयान दिएका छन् । सामाजिक सञ्जालमा गलत हल्ला फैलाएर भ्रम सिर्जना गर्न खोजेकाले उनलाई नियन्त्रणमा लिइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।