इटालीमा कोरोनाका कारण एकैदिन ७ सय ६० को मृत्यु
एजेन्सी, विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण इटालीमा पनि तीव्र देखिएको छ ।
इटालीमा पछिल्लो २४ घण्टामा ७६० जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १३ हजार ९१५ पुगेको छ । इटालीमा एकैदिन ४ हजार ६६८ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या १लाख १५ हजार २४२ पुगेको छ ।
चीनको वुहानबाट शुरु भएको कोरोना संक्रमणको दर यूरोपियन मुलुक इटालीमा तीव्र देखिएको छ । इटालीमा संक्रमितमध्ये १८ हजार २७८ जना उपचारपछि निको भएका छन् । ४ हजार ५३ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ भने ८३ हजार ४९ जना उपचाररत छन् ।
यसैबीच, विश्वव्यापी रुपमा कोरोना भाइरसका कारण एकैदिन ५ हजार ७ सय ९० जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ५२ हजार ९ सय ८२ पुगेको छ । संक्रमितको संख्या विश्वमा १० लाख १४ हजार २ सय ९६ पुगेको छ । एकै दिन ७९ हजार १ सय जनामा संक्रमण देखिएको जनाइएको छ । संक्रमितमध्ये २ लाख १२ हजार १८ जना उपचारपछि निको भएका छन् ।