कतार एयरलाइन्सबाट आएका ३ जनामा कोरोना पुष्टि

काठमाडौं,कतार एयरलाइन्सको जहाजमार्फत मार्च १७ अर्थात चैत ४ गते नेपाल आउने ३ जनामा कोरोना भाइरसको संक्रमण रहेको पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा बिहीबार गरिएको परीक्षणमा कतारबाट आएका थप एक जनामा कोरोनाको संक्रमण रहेको पुष्टि भएसँगै सो विमानमा नेपाल आउनेमध्ये तीन जनामा कोरोना भाइरसको संक्रमण रहेको पुष्टि भएको हो ।

A350 flying aircraft.

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा बिहीबार गरिएको परीक्षणमा कतारबाट आएका थप एक जनामा कोरोना पोजेटिभ भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले बिहीबारको नियमित पत्रकार सम्मेलनमा जानकारी दिए । संक्रमितबारे मन्त्रालयले थप जानकारी दिएकाे छ । चैत ४ गतेको कतार एयरलाइन्सको क्यूआर ६५२ नम्बरको फ्लाइटमा उनीहरु नेपाल आएका थिए भने सो विमानमा २०५ जना यात्रु थिए ।

यसअघि चैत १० गते दोहाबाट सोही फ्लाइटमा नेपाल आएकी एक युवतीमा कोरोना पुष्टि भएको थियो । १० गते संक्रमण पुष्टि भएकी युवती फ्रान्सबाट कतार ट्रान्जिट हुँदै नेपाल आएकी थिइन् । यस्तै शनिबार पनि सोही बेल्जियमबाट दोहा ट्रान्जिट हुँदै नेपाल आएकी युवतीमा पनि कोरोना पुष्टि भएको थियो ।

कतारको दोहाबाट स्थानीय समय अनुसार मार्च १७ को बिहान ३ बजेर ५ मिनेटमा उडेको एअरवेजको जहाज मार्च १७ को बिहान १०ः३० बजे नेपाल आइपुगेको थियो । स्वास्थय मन्त्रालयका अनुसार हालसम्म ११८४ वटा नमुना परीक्षण भएको र त्यसमा आजको समेत गरी ६ जनामा कोरोना पोजेटिभ भेटिएको छ ।