स्वदेश फर्किन खोज्ने ३५० भारतीय पक्राउ, यसरी राखियो क्याम्पसमा

काठमाडौं, मध्यरातमा पर्साका विभिन्न खुला सीमा क्षेत्रबाट स्वदेश पस्न लागेका ३५० भारतीयलाई प्रहरीले पक्राउ गरेको छ । पोखरालगायत विभिन्न क्षेत्रबाट पैदल हिँडेर वीरगन्ज पुगेका उनीहरुलाई गएराति प्रहरीले पक्राउ गरेको हो ।

नेपाल–भारत सीमा बन्द भएको अवस्थामा उनीहरु इनरुवा नाकाबाट भारत प्रवेश गर्न लागेका थिए । पर्सामा १०७ किलोमिटर सीमा क्षेत्र भारतसँग जोडिएकाले खुला सीमाका कारण चुनौती थपिएको प्रहरी अधिकारी बताउँछन् । जिल्ला प्रहरी कार्यालय पर्साकी प्रहरी उपरीक्षक (एसपी) गंगा पन्तले लकडाउनको समयमा दुवै देशको आवगमन ठप्प भएकाले उनीहरुलाई जान नदिइने बताइन् ।

उनले भनिन्, “अहिले उनीहरुलाई सदरमुकाममै रहेको एक छात्रावासमा राखेका छौं । उनीहरुलाई के गर्ने भन्नेबारे छलफल गर्छौ । उनीहरु आएकै क्षेत्र फिर्ता पठाउने वा यतै व्यवस्थित गर्ने सोच्दैछौं ।”

उनीहरु नेपालका विभिन्न स्थानमा पेशा, व्यवसाय र मजदुरी गर्ने काममा संलग्न रहेको खुलेको छ । उनीहरुलाई ठाकुरराम बहुमुखी क्याम्पसमा राखिएको छ ।