लकडाउनकै बेला दिल्लीको धार्मिक सभामा पुगेका २० नेपालीलाई क्वारेन्टाइनमा राखियो
रौतहट, भारतको नयाँ दिल्लीमा लकडाउनको बेला एक धार्मिक सभामा नेपालीहरु समेत सहभागी रहेको खुलेको छ । मार्च १ गते देखि १५ गतेसम्म नयाँदिल्लीस्थित निजामुद्दीनको मर्कज बिल्डिङमा भएको तबलीगी समुदायको धार्मिक सभामा करिब आठ हजार जना सहभागीमध्ये नेपालबाट पनि २० जना सहभागी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
कोरोना भाइरसको संक्रमण फैलिन नदिन भारतले सभा सम्मेलनमा रोक लगाए पनि स्थानीय प्रशासनले रोक नलगाउँदा सभामा कोरोना भाइरस संक्रमणको त्रास बढेको हो ।
हाल दिल्लीका स्थानीय प्रशासनले उनीहरुलाई क्वारेन्टाइनमा राखेर निगरानी गरिरहेको छ । दिल्लीमा भेटिएका ९७ संक्रमितमध्ये २२ जना त्यही सभामा सहभागी भएको र कोरानाका कारण मृत्यु भएका ६ जना समेत सोही सभामा सहभागि भएको तेलङ्गना सरकारलाई उद्धत गर्दै प्रेस ट्रस्ट अफ इण्डियाले जनाएको छ ।
उक्त धार्मिक सभामा सहभागी रहेका नेपालीहरु दिल्लीमा क्वारेन्टाइनमा राखिएको जनाइएको छ । सहभागीमा १६ जना रौतहटको र चार जना बारा जिल्लाको रहेको खुल्न आएको छ ।