राप्तीमा विपद व्यवस्थापन सहयोग तथा अनुगमन समिति गठन

भालुवाङ,दाङ देउखुरीको राप्ती गाउँपालिकामा गाउँपालिका स्तरीय विपद व्यवस्थापन सहयोग तथा अनुगमन समिति गठन गरिएको छ । विश्व व्यापी रूपमा महामारीको रूपमा फैलिएको कोरोना भाइरस कोभिड १९ को संक्रमण बाट बच्न र बचाउन सरकारले लागु गरेको लकडाउनको अवधीमा कुनै पनि नागरिकलाई कुनै समस्या पर्न नदिन राप्ती उद्योग वाणिज्य संघ भालुवाङका अध्यक्ष जगतप्रसाद पोख्रेलको अध्यक्षतामा १५ सदस्यीय समिति गठन गरिएको हाे ।

अाइतवार राप्ती गाउँपालिका-८ बिजाैरीमा बसेको सर्वपक्षीय बैठकले सो निर्णय गरेको हो । नव गठित समितिको कार्यकारी अध्यक्षमा देउखुरी कुखुरा पालक समुहका अध्यक्ष अर्जुन अधिकारी, उपाध्यक्षमा राप्ती उद्योग वाणिज्य संघ भालुवाङका संस्थापक अध्यक्ष होमप्रसाद शर्मा,सचिवमा राप्ती गाउँपालिका चेम्बर अफ कमर्सका अध्यक्ष कुमार अधिकारी, सहसचिवमा सिसहनियाँ उद्योग वाणिज्य संघका अध्यक्ष शान्तराज भण्डारी र कोषाध्यक्षमा हरियाली बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष शिवध्वज मल्ल रहेका छन् ।

समितिका अन्य सदस्यहरूमा स्वास्थ्यकर्मी सुर्यकिरण केसी, युवा क्लवबाट अाषिश न्याैपाने, रेडक्रसबाट मेनुका शर्मा, सञ्चारकर्मीबाट ओमप्रकाश गुप्ता, समाजसेवीबाट फुलराम चाैधरी, कमलापती चाैधरी, उमेश अाचार्य, घण्टदेव सामुदायिक वनका अध्यक्ष दलबहादुर घर्ती र भालुवाङ होटल व्यवसायी समितिका अध्यक्ष महेश बेल्वासे रहेका छन् ।

गठित समितिले विपदका बेला गाउँपालिका स्तरमा नागरिकको अवस्था पहिचान गरी राहतको व्यवस्था मिलाउन पहल गर्ने,भारत तथा तेस्रो मुलुकबाट अाएका व्यक्तिहरूको पहिचान गरि क्वारेन्टाइनमा राख्न तथा स्वास्थ्य परिक्षणका लागि पहल गर्ने, स्थानीय सरकार तथा सरोकारवाला निकाय सँग समन्वय गरी काम गर्ने र दवाव दिने बताइएको छ । बैठक देउखुरी कुखुरा पालन समुहका अध्यक्ष अर्जुन अधिकारीको अध्यक्षतामा बसेको थियोे भने सहजीकरण पत्रकार ओमप्रकाश गुप्ताले गरेका थिए ।