निगमले भन्यो, ‘भरी सिलिन्डर ग्यास भए १ बजेसम्म बेचिसक्नु
काठमाडौं । नेपाल आयल निगमले ग्यास बिक्रेतालाई भरी सिलिन्डर ग्यास भए बेचिहाल्न निर्देशन दिएको छ । निगमले ग्यास बिक्रेतालाई त्यस्तो ग्यास दिउँसो १ बजेभित्र बेचिसक्न भन्दै त्यो बेलासम्म बिक्री नभए सम्बन्धित उद्योगमा फिर्ता पठाउन समेत निर्देशन दिएको हो ।
दिउँसो १ बजेदेखि बजारमा आधा सिलिन्डर ग्यासको मात्रै कारोबार हुने भन्दै निगमले त्यसपछि बिक्रेतासँग भरी सिलिन्डर ग्यास पाइएका प्रचलित कानून बमोजिम कारबाही गर्ने चेतावनी समेत दिएको छ ।
साथै बिक्रेता वा डिस्टिब्युटर्सले आफूसँग भएको ग्यासको विवरण, सुरुवाती मौज्दात लगायतका विवरणहरु समेत सबैले देखिनेगरी टाँस्न निर्देशन दिएको छ । उद्योगहरुले पनि अब अर्को व्यवस्था नभएसम्मका लागि एउटा उद्योगको सिलिन्डरमा अर्को उद्योगले समेत ग्यास भर्न समेत निगमले खुला गरिदिएको छ ।
यसअघि १४.२ किलोग्राम प्रतिसिलिन्डर हुँदै आएको ग्यास अब ७.१ किलोग्रामको हुनेछ । उक्त ग्यासको मूल्य आधा नै तोकिएको छ । अब, आधा सिलिन्डर ग्यासको मूल्य काठमाडौंमा ६ सय ८७ रुपैंया ५० पैसामा पर्छ । पूर्वी तराईमा ६ सय ७७ रुपैंया ५० पैसा पर्छ भने पश्चिम तराईका जिल्लाहरुमा ६ सय ७० रुपैंया पर्छ । पहाडी जिल्लाहरुका हकमा के गर्ने भन्ने सम्बन्धमा भने निगमले सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई जिम्मा दिएको छ ।