सल्यानमा एक महिनालाई पुग्ने खाद्यान्न
सल्यान ,सल्यान उद्योग वाणिज्य संघ सल्यानले जिल्लामा एक महिनाका लागि खाद्यान्न रहेको बताएको छ।
लकडाउनसँगै खाद्यान्नको अभाव हुने धेरैको आशंका रहे पनि कुनै समस्या नहुने संघले बताएको हो। सल्यानमा अहिले ९०० क्विन्टल चामल, ५० क्विन्टल दाल, ५० क्विन्टल पिठो, ६५ क्विन्टल चिनी र ६०० गत्था तेल रहेको संघका अध्यक्ष वीरबहादुर चलाउनेले जानकारी दिए।
दैनिक उपभोग्य वस्तुको अभाव नहुने भएकाले आवश्यकताभन्दा बढी बस्तु सञ्चय नगर्न समेत अध्यक्ष चलाउनेले आग्रह गरेका छन्। ‘बजारमा दैनिक उपभोग्य बस्तुको अभाव हुन्छ भनेर आवश्यकताभन्दा बढी सामान स्टक गरेको पनि पाइयो,’ उनले भने, ‘यसो गर्दा अभाव सिर्जना हुन सक्छ।
जति चाहिन्छ त्यतिमात्र लग्दा हुन्छ।’ प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले खाद्यान्न आपूर्तिलाई सहज बनाउन इमेलमार्फत पनि अनुमित दिने व्यवस्था गरिएको बताए। जिल्लामा अत्यावश्यक पर्ने दैनिक उपभोग्य बस्तु अभाव हुन नदिन उद्योग वाणिज्य संघसँग समन्वय भइरहेको उनको भनाइ छ।
तर, उपभोक्ताले बजारमा समान भए पनि लुकाउने प्रचलन रहेको गुनासो गरेका छन्। उपभोक्ता अधिकार हित संरक्षण मञ्चका केन्द्रीय सदस्य रामचन्द्र रेग्मीले उपभोग्य बस्तुको अभाव नभए पनि लुकाउने गरेको गुनासो रहेको बताए।