यस्तो बन्यो सुर्खेतमा सेनाको क्वारेन्टाइन
सुर्खेत,नेपाली सेनाले कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगरमा चार सय क्षमताको क्वारेन्टाइन निर्माण गरेको छ। नेपाली सेनाको उत्तरपश्चिम पृतनाले खुल्लामञ्चमा क्वारेन्टाइन निर्माण गरेको हाे । क्वारेन्टाइनमा तत्काल शनिबार दिउँसोसम्म एक सय ५ जनालाई राखिने प्रमुख सेनानी झुलेन्द्रविक्रम बस्नेतले बताए।
‘एक जनालाई एउटा टेन्टमा राख्ने व्यवस्था मिलाएका छौं,’ बस्नेतले भने, ‘आवश्यकता अनुसार टेन्टहरु थप्ने तयारी छ।’ खुल्लामञ्चमा बनाइएको क्वारेन्टाइनलाई तीन खण्डमा बाँडिएको छ। खण्ड ‘क’ मा एक सय ५, खण्ड ‘ख’ मा एक सय ५ र खण्ड ‘ग’ मा एक सय ९० जनाका लागि टेन्ट तयार गरिएको छ। क्वारेन्टाइमा राखिएकाहरुको उपचारका लागि तीन जना प्यारामेडिकसहित पाँच जना स्वास्थ्यकर्मी छन्। क्वारेन्टाइनको सुरक्षाका लागि नेपाली सेनाको एक बटालियन तैनाथ छ।
सेनाले निर्माण गरेको क्वारेन्टाइनमा प्रत्येक १० जनाका लागि एउटा शौचालय र बाथरुम निर्माण गरिएको छ। क्वारेन्टाइन नहुँदा प्रदेश सरकारले वीरेन्द्रनगरको अशोका होटल, अन्तरनिर्भर समाज र जन माविमा भारत र अन्य मुलुकबाट आएका कर्णालीका नागरिकहरुलाई चार दिनदेखि राखिरहेको छ।
भारतबाट आएर जन माविमा राखिएका २२ जनालाई शनिबार नै दैलेख पठाउने तयारी प्रदेश सरकारले गरेको छ। कर्णाली प्रदेश सरकारको आर्थिक सहयोगमा नेपाली सेनाले क्वारेन्टाइन निर्माण गरेको हो।