१ सय २१ जनाको उद्दार गरिए पनि ६८ पर्यटक मुस्ताङमै छुटे

मुस्ताङ,  मुस्ताङ पुगेका पर्यटकहरुमध्ये विभिन्न मुलुकका ६८ जना पर्यटकहरु अझै मुस्ताङमा नै अलपत्र परेका छन् ।

देश लकडाउन हुनुपूर्व राउण्ड अन्नपूर्ण हुँदै मुस्ताङ पुगेका पर्यटकहरु कोरोना भाइरसको संक्रमण रोक्नका लागि नेपाल सरकारले देशलाई नै लकडाउन गरेसंगै उनीहरु अलपत्र परेका हुन् ।

मुस्ताङ प्रशासनले तीन दिनको अवधिमा मुस्ताङमा रहेका १ सय २१ जना विदेशी पर्यटकहरुलाई हिजो (चैत १३ गते) मात्रै उद्धार गरेर काठमाण्डौ पठाएको थियो । १ सय २१ जनाको उद्धार गरेर काठमाण्डौं पठाए पनि अझै ६८ जना भने मुस्ताङमा नै रहेका मुस्ताङका पत्रकार निरज थकालीले जानकारी दिएका छन् ।

अन्नपूर्ण चक्रीय पदमार्ग हुँदै हिमाल पारिको जिल्ला मुस्ताङमा पुगेका विभिन्न २१ मुलुकका बाँकी रहेका ६८ जना पर्यटकहरुलाई अर्को सूचना नआउनेबेलासम्म मुस्ताङमा नै राखिने मुस्ताङका प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्यालले बताए ।

अमेरिका, फ्रान्स, जर्मन, इटाली, स्पेन, क्यानडा, पोर्तुगल, बेलायत, युक्रेन, न्युजील्याण्ड लगायतका मुलुकका पर्यटकहरुलाई बस मार्फत पोखरा हुँदै काठमाण्डौ पठाइएको थियो । मुस्ताङमा रहेका अन्य पर्यटकको पनि खोजी भइरहेको प्रजिअ अर्यालले जानकारी दिए ।

‘‘कोरोनाको सतर्कतासंगै म्याग्दी हुँदै मुस्ताङ भित्रने सडकमा पूर्ण रुपमा रोक लगाइएको छ, तर मनाङ भएर थोरङ्लापास गरेर आएका पर्यटकहरु यही नै अल्पत्र पर्न थालेपछि सम्बन्धित मुलुकका राजदूताबाससँगको समन्वयमा उनीहरुलाई उद्धार गरि पठाएका हौँ ‘, प्रजिअ अर्यालले भने ।