प्रभावित देशबाट आएका नौजना नेपालगन्जको क्वारेन्टाइनमा

बाँके , कोरोना भाइरस प्रभावित देशबाट आएका नौ जनालाई नेपालगन्जस्थित महेन्द्र बहुमुखी क्याम्पस परिसरमा रहेको क्वारेन्टाइनमा राखिएको छ।

बैजनाथ गाउँपालिकाबाट एक महिलालाई ल्याएर राखेपछि क्वारेन्टाइनमा बस्नेको संख्या ९ पुगेको छ। ११ चैतमा भारतको नयाँ दिल्लीबाट नेपाल आएकी बैजनाथ गाउँपालिका ८ की एक महिलालाई शुक्रबार क्वारेन्टाइनमा ल्याइएको छ। स्वास्थ्यमा समस्या देखिएपछि भेरी अस्पताल आएकी २५ वर्षीया महिलालाई अस्पतालले क्वारेन्टाइनमा बस्न सुझाव दिएपछि उनलाई त्यहाँ राखिएको हो।

उनको अवस्था सामान्य रहे पनि निगरानीमा राख्नुपर्ने भएकोले क्वारेन्टाइन पठाइएको भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाशबहादुर थापाले बताए। यसअघि कतार, मलेसियालगायत खाडी मुलुकबाट आएका व्यक्तिलाई क्वारेन्टाइनमा राखिएको छ।

उनीहरूको नमुना परीक्षणका लागि काठमाडौं पठाइएको उनले बताए। क्वारेन्टाइनमा राखिएकामा नेपालगन्ज उपमहानगरपालिकाका एक, बैजनाथ गाउँपालिकाका र खजुराकाका दुई दुई, जानकी गाउँपालिकाका तीन र बर्दिया बढैयाताल गाउँपालिकाका एक जनालाई स्वास्थ्य परीक्षणका लागि क्वारेन्टाइनमा राखिएको जिल्लास्तरीय क्वारेन्टाइन निगरानी तथा अनुगमन समितिले जनाएको छ।

सेनाको नेतृत्वमा तीन तहको सुरक्षा व्यवस्था क्वारेन्टाइनको सुरक्षाका लागि तीन तहको सुरक्षाकर्मी परिचालन गरिएको छ। नेपाली सेनाका क्याप्टेन विकास लिम्बूको नेतृत्वमा तीन तहको सुरक्षा व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले बताए । ‘नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली २४ सै घण्टा क्वारेन्टाइन सुरक्षार्थ खटाइएको छ,’ उनले भने।